मोरङको जहदामा २३ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
मोरङ प्रहरीका अनुसार, पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिलकुमार साह र भारत विहारका (अहिले कटहरी २ मा ग्यारेजमा काम गर्ने) १८ वर्षीय महमद गुल्जर छन्।
पीडितसँगको प्रारम्भिक बयानका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार मर्निङवाकमा निस्किएकी युवती दिउँसो खेतबारीको बीचमा रहेको बाँसघारीमा हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा भेटिएकी थिइन्। उनीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुमानसहित प्रहरीले अनुसन्धान थालेको थियो।
उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ।
प्रकाशित: ११ पुस २०८१ १३:२८ बिहीबार