११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

श्रीमान् र छोराको शोकमा डुबेकी रेजिना भन्छिन्: हत्या गरेकाे छोराकै मुखबाट सुन्न चाहन्छु

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।

सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए कुलप्रसाद । तर स्कुटर चढ्ने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए । आफैंले जन्म दिएको छोराले उनको हत्या गरे ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा कुलप्रसाद सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत भेटिएका हुन् । उनीसँगै कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको शव फेला परेको थियो । बुवा र भाइको हत्या अभियोगमा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको छ ।

सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोवाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत अबस्थामा भेटिएका थिए ।

मिलनले बुवाको हत्यापछि सिरक ओढाइदिएका थिए । भान्छा कोठामा सुतेका प्रवीणको भने बिभत्स तरिकाले टाउँकोमा सिलौटाले प्रहार गरी अनुहार नै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी कुलप्रसादकी पत्नी रेजिना आचार्य अहिले शोकाकुल छन् ।

मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दाको दृष्य हृदयविदारक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बारेर किरिया बसेपछिको क्षण परिवार र आफन्तका लागि निकै पीडादायी बनेको देखिन्थ्यो ।

यो परिवारमा घर झगडा र कलह कहिल्यै नरहेको आफन्तहरुले बताएका छन् । एक आपसमा माया र स्नेहमै अगाडि बढिरहेको अबस्थामा मिलनले आफ्नै बाबु र भाइको बिभत्स तरिकाले कसरी हत्या गर्न सके भन्ने प्रश्नले पटकपटक चिमोटिरहेको बताउँछन् आफन्त दीपक पाण्डे ।

शनिवार साँझसम्म कुलप्रसाद कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए । साँझ जेठो छोराले ‘मासु बनाएको छु बाबा, खाना खान आउनुस्’ भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरुको कोठामा पुगेका थिए उनी । बुबा र दुई भाइ छोराले शनिबार बेलुकाको खाना सँगै खाए । तर अचानक राति अविश्वसनीय घटना भयो ।

शनिवार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढीआमा तुलसाका आँखा ओभाएका छैनन् । अर्कोतिर छोरा र नातिको अकास्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छट्पटाइरहेका छन् ।

मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । ‘मेरो जेठोले अति माया गर्ने बुबा र भाइको हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु,’ भन्दै भावविव्हल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अबस्था नरहेको पाण्डे बताउँछन् ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाटमा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलन लोकसेवाको परीक्षामा असफल भएपछि केही निराश बनेका थिए । कान्छो छोरा प्रवीण सूचना प्रबिधिमा स्नातक अध्ययन गरिरहेका थिए । बिभिन्न प्रतियोगिताहरुमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए ।

मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेको जानकारी दिए । स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने उनको तयारी थियो ।

मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा बिवाह भएको छ । कान्छी छोरी गएको तिहार मानेर पत्रकारितामा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकासप्राप्त पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय रहेको बुझिएको छ । भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरुको भविष्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमी र कन्जुस्याईं नगरेको बताउँछन् ।

घटना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएका थिए । गत शनिवार उनी साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर त्यही दिन राति किन त्यस्ता घट्ना भयो भन्ने जवाफ परिवार र आफन्तले अझै पाउन सकेका छैनन् ।

मिलनलाई थप अनुसन्धानसहित जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतकका परिवारजन र आफन्तले घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धान गर्न माग गर्दै प्रहरी बृत्त थिमिमा जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोकसेवा आयोगको परीक्षामा असफल भएपछि झनै तनाब बढेकाले दुबै जनाको हत्या गरेको बयान मिलनले दिएका छन् । हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने उनको दावी छ । रमेश गिरी/रासस

प्रकाशित: १० पुस २०८१ १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App