१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गरेका छन्।

‘क्रिसमस डे’, २०२४ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले पर्व/त्योहार र उत्सवहरू व्यापार र आर्थिक गतिविधिका लागिसमेत उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।

क्रिश्चियन धर्मका प्रवर्तक इसा मसिहको जन्म भएको दिनका रुपमा हरेक वर्षको डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी/धर्मावलम्बीहरूले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रहिआएको छ।

शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व छ। यस अवसरमा इसाई धर्मावलम्बीहरूले आआफ्नो घरलाई झिलीमिली बत्ती, गुबारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ।

यो पर्वले साथीभाइ, परिवार र आफन्तबीच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ।

चाडपर्वले सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरूमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गरेका छन्। उनले क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना पुनः व्यक्त  गरेका छन्। 

प्रकाशित: १० पुस २०८१ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App