सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलेर भित्राइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिँदै आइरहेको छ। सशस्त्र प्रहरीले पछिल्ला दुई दिनमा फरकफरक ठाउँबाट करिब ४५ लाख रूपैयाँभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियताले भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको बताए।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगर–१६ स्थित इनर्वा तथा सीमानाकाबाट भित्राइएको १३ लाख ३६ हजार नौ सय ३५ रूपैयाँ मूल्य पर्ने किनारा, कस्मेटिक्स, मोटरपार्ट्स, मोबाइल एसेसोरिज र कपडा लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले ना ५३ प ९३०६ नम्बरको करिब रु दुई लाख मूल्य पर्ने मोटरसाइकल समेत बुझाएको छ।
सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज भन्सार कार्यालयबाट शनिबार खटिएको टोलीले वीरगञ्ज महानगर–६ स्थित लाठगलीबाट प्रवेज अक्तरको स्टोरको गोदामबाट भन्सार छली गरेर भण्डारण गरिराखेको ३० लाख ४९ हजार रूपैयाँ मूल्य पर्ने कपडा बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई दाखिला गरेको छ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याइएका १५ करोड १८ लाख रूपैयाँ मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रूपैयाँ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
त्यस्तै सोही अवधिमा दुई करोड ६४ लाख ३० हजार एक सय ४९ रूपैयाँ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ।
प्रकाशित: १ पुस २०८१ ११:५१ सोमबार