उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको सहकारी ठगी प्रकरणमा रंगेली नगरपालिका–२ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा प्रतिवादी रहेको पाइएको छ।
जिल्ला अदालत मोरङले मंसिर २८ गते सहकारीका सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। तर अन्य प्रतिवादीसहित वडाध्यक्ष खवास भने हाल फरार छन्।
सहकारी ऐन २०७४ को दफा १२२ अनुसार कारबाहीको मागसहित उमागौरी सहकारी प्रकरणमा मुद्दा दायर गरिएको छ। लेखा समिति सभापति पोखरेलसँग नजिक रहेका धनपालथान–४ घर भई विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियारले सहकारी खोलेका थिए।
सांसद पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी सहकारीकी पूर्व सञ्चालक हुन्। सहकारी सङ्कटमा परेपछि २०७८ माघ ५ गते उनले पदबाट राजीनामा दिए पनि उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेको कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा उनलाई कालोसूचीमा राखिएको थियो।
कालोसूची हटाउन माग गर्दै उनले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी छन्। यो मुद्दा हाल विचाराधीन अवस्थामा छ।
उमागौरी सहकारीले महिला उद्यमशीलता कर्जाका नाममा सदस्यको कागजात सङ्कलन गरी नबिल बैंक विराटनगरबाट ऋण निकालेको थियो। तर ऋणको अधिकांश रकम सहकारीका सञ्चालकले आफ्नो स्वार्थमा प्रयोग गरेका थिए।
करिब डेढ वर्षदेखि बन्द रहेको सहकारीको कार्यालयबाट प्रहरीले कात्तिक १४ गते ताला फोडेर सबै कागजात बरामद गरेको थियो। प्रहरीले सार्वजनिक आह्वान गर्दा २० जना ऋणीले आफूहरू ठगिएको भन्दै निवेदन दिएका थिए।
सरकारी वकिलको कार्यालयद्वारा दायर अभियोगपत्रअनुसार, २६ जना प्रतिवादीबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ। सहकारीका ७ सय ७ ऋणीले २४ करोड ३० लाख २२ हजार ५ सय ३४ रुपैयाँ ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ६४ हजार ७ सय १ रुपैयाँ मात्रै उठेको छ। अझै १६ करोड १६ लाख ५७ हजार ८ सय ३२ रुपैयाँ असुल गर्न बाँकी छ।
प्रकाशित: ३० मंसिर २०८१ १९:०१ आइतबार