राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब कुनै पनि नेपालीले जातका आधारमा झुक्नु नपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले दलित समुदायमाथि भएको शताब्दीयौं लामो विभेदप्रति सरकारका तर्फबाट पहिलोपटक क्षमायाचना गरेका हुन्।
उनले विगतको जातीय विभेद केवल सामाजिक गल्ती नभई संगठित अपराध भएको बताए। सीप र कला भएका समुदायलाई अछुत बनाएर विगतमा राज्य र समाजबाट ठूलो गल्ती भएको उनले सुनाए।
उनले भने, ‘यो सरकार शताब्दीयौंदेखिको विभेद, अन्याय, अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दैछ यो सदनबाट। आजसम्मको विभेद सामाजिक गल्ती थिएन संगठित अपराध थियो। जसको हातमा सीप थियो तिनलाई अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु पर्नेछैन। हामी ती समुदायप्रति माफी माग्न चाहन्छौं।’
यसैगरी, सदनमा मागिएको यस माफीको मूल्य अब सरकारले न्यायमार्फत स्थापित गर्ने उनले सुनाए।
प्रकाशित: १९ चैत्र २०८२ १५:०९ बिहीबार


-600x400-wm.jpg)


