११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहट स्कारपियो दुर्घटना: ८ मृतकसहित घाइतेहरूको पहिचान खुल्यो

गढीमाई मेलाबाट फर्किंदै गरेको स्कारपियो मंगलबार बिहान १ः१५ बजे रौतहटको चन्द्रपुर नगरपालिका-४ धनसर पुलनजिक जंगलमा दुर्घटनाग्रस्त हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ।

मृतकहरूमा सिरहा जिल्लाको अर्नमा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिदा महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगी देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा, र अर्नमा-५ बलुवाटोलका ४० वर्षीय चालक श्रीकुमार यादव रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूमा अर्नमा-३ बंठियाटोलका ३० वर्षीया राधा राम, उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा, र ६० वर्षीया कन्यादेवी महरा रहेका छन्। घाइतेहरूको उपचार वीरगंजका विभिन्न अस्पतालमा भइरहेको छ, तर केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्कारपियो अनियन्त्रित भई सडकबाट तल झरेर दाहिनेतिरको रुखमा ठोक्किएपछि दुर्घटना भएको हो। घटनास्थलमा बाक्लो हुस्सु लागेको र तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले जानकारी दिए।

दुर्घटनाग्रस्त स्कारपियोमा चालकसहित १३ जना सवार थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए।

मधेश प्रदेशमा हालैको एक हप्तामा मात्र १५९ सवारी दुर्घटना भएका छन्। जसमा ११ जनाले ज्यान गुमाइसकेका छन्। प्रहरीका अनुसार २५३ जना घाइते भएका छन्। यो आँकडाले सवारी सुरक्षा र जनचेतनाको कमीलाई उजागर गरेको छ।

यस्ता दुर्घटनाहरू न्यूनीकरणका लागि प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि दुर्घटनाको संख्यामा कमी आउन सकेको छैन। मध्यरातमा हुने तीव्र गतिका सवारीहरू रोक्न थप पहल आवश्यक देखिएको छ।

प्रकाशित: २५ मंसिर २०८१ २०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App