१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

पछिल्लो ७ वर्षमा १३ लाख बढीले गरे पाथीभरा मन्दिरको दर्शन

पछिल्लो ७ वर्षमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १३ लाखभन्दा बढी दर्शनार्थी आएका छन् । यो चालू आ.व. २०८१/८२ को तथ्याङ्क बाहेकको संख्या हो ।

पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि आव २०८०/८१ सम्ममा पाथीभरा आएका दर्शनार्थीको तथ्याङ्क सार्वजनिक गरेको हो ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ७ वर्षको उक्त अवधिमा १३ लाख ३ हजार ४ सय ९२ जना दर्शनार्थी मन्दिरमा आएका छन् । क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार पछिल्लो ७ वर्षमध्ये सबैभन्दा बढी दर्शनार्थी आव २०७९/८० मा आएका थिए ।

उक्त आवमा २ लाख ८३ हजार ९ सय ४५ जना दर्शनार्थी आएका थिए । यस्तै आव २०८०/८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना दर्शनार्थी आएका थिए । यस्तै आव २०७७/७८ मा २ लाख १७ हजार ९ सय ६१ जना र आव २०७८/७९ मा २ लाख ४ हजार २ सय ८४ जना दर्शनार्थी आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

७ वर्ष भित्रमा सबैभन्दा कम दर्शनार्थी आव २०७५/७६ मा १ लाख १ हजार ६ सय ५ जना आएका थिए । आव २०७६/७७ मा १ लाख २ हजार ८ सय ७६ जना र आव २०७४।७५ मा १ लाख ६१ हजार ४ सय ८७ जना दर्शनार्थी पाथीभरा मन्दिर आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको  छ ।

चालू आवको कात्तिक महिनामा मात्रै ६१ हजार १ सय ७३ जनाले पाथीभराको मन्दिर दर्शन गरेका थिए । असोज महिनामा भने ५ हजार ९ सय ४९ जनाले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

३,७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । मेची राजमार्ग अन्तर्गत सुकेटारसम्म पक्की सडक छ भने त्यसपछिको काफ्लेपाटीसम्म कच्ची सडक छ ।

काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ । हाल पैदल मार्गलाई थप व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट बच्ने फाइबर छाना राखिएका छन् । यद्यपि काफ्लेपाटीसम्म फाइबर छाना ओढाउने योजना भने पूरा भएको छैन ।

प्रकाशित: २४ मंसिर २०८१ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App