दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरु भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन्।
शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा खोलो बढ्दा आवतजावतमा समस्या हुने गरेको भए पनि अब पुल बनेमा सहज हुने भन्दै खुसी व्यक्त गरे। “वर्षातमा निकै समस्या हुन्थ्यो, खोलाले आवतजावत नै रोक्ने अवस्था हुन्थ्यो”, उनले भने, “अब यो समस्या टरेको छ।”
त्यस्तै, तुलसीपुर–१ भमकेका रामबहादुर चौधरीले पनि खोलामा पुल बन्न लागेकाले आवतजावतमा सहज हुने उनको अपेक्षा छ। बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ। यसअघि पुल नहुँदा वर्षातमा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो।
सडक बीचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुनेछ। त्यसका लागि शारदा निर्माण सेवासँग दुई करोड १२ लाख ६४ हजार रुपैयाँमा सम्झौता भएको छ। साथै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणका लागि सोही निर्माण कम्पनीसँग सम्झौता भएको छ।
बैलाहाखोलाको काम भने सुरु भएको छैन। गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिना भित्र सक्नुपर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिषकुमार अर्यालले जानकारी दिए।
लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीका अनुसार पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा आफूले बहुवर्षीय ठेक्का हुनेगरी बजेट विनियोजन गरेर कार्यान्वयनका लागि लागिरहेको बताए।
उनले पश्चिम दाङको सडक तथा पुलहरूका लागि आफू मन्त्री हुँदा पनि बजेट हालेको र अहिले सांसद हुँदा पनि बजेट बिनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनको विषयमा पनि पटक–पटक अनुगमन गरिरहेको दाबी समेत गरेका छन्। अहिले सम्झौता गरेर काम गर्नुपर्ने भए पनि पर्याप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालको भनाई छ। रासस
प्रकाशित: २२ मंसिर २०८१ १०:१६ शनिबार




