साताव्यापी विवाह पञ्चमी महोत्सवमा मग्न जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार रामसीताको विवाह गरिएको छ। पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको थियो। सोही दिनको सम्झनामा जनकपुरधाममा मंसिर शुक्लपक्ष पञ्चमीका दिन विवाह महोत्सव मनाइन्छ। यसपटक पनि साधुसन्तको अगुवाइमा साताव्यापी महोत्सवको मुख्य दिन शुक्रबार रामसीताको विवाह गरिएको हो।
दिउँसो बाजागाजा, झाँकी, कीर्तनसहित राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट सीता (जानकी) को डोला निकालेर बाह्रबिघा रंगभूमि मैदान पु¥याएर स्वयंवर गर्ने चलन छ। सोही प्रचलनअनुसार यसपटक पनि बाह्रबिघा मैदानमा दुवै डोलाको मिलनपछि वैदिक परम्पराअनुसार मालाफेर गरी राम र सीताको स्वयंवर गरियो।
स्वयंवरका अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो। डोलाको दर्शन र रामसीताको स्वयंवर हेर्न बाह्रबिघा मैदानमा हजारौंको संख्यामा दर्शनार्थीको घुइँचो लागेको थियो। बेलुकी जानकी मन्दिरमा विवाह कार्यक्रम गरियो।
जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने क्रममा बिहीबार मटकोर गरिएको थियो। त्यसअघि तिलकोत्सव, नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ गरिएको थियो। महोत्सवको सातौं दिन शनिबार रामकलेवा विधि सम्पन्न गरिन्छ। रामकलेवासँगै यस वर्षको विवाह पञ्चमी महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ।
मिथिलाञ्चलकी राजकुमारी सीता र अयोध्याका राजकुमार रामबीच त्रेता युगमा भएको भनिएको विवाह नेपाल–भारतबीच सांस्कृतिक सम्बन्धको कडी बनेको छ। त्यतिबेलादेखि नै नेपाल–भारतबीच ‘रोटीबेटी’को सम्बन्ध स्थापित भएको बताइन्छ। यस सम्बन्धको साक्षी बन्न प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा सहभागी हुन लाखौं भारतीय तथा तेस्रो मुलुकका पर्यटक जनकपुरधाम आउँछन्।
पाहुनाको स्वागत सत्कारमा मधेस प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, स्थानीय क्लब र समितिहरू खटिन्छन्।
‘परम्परादेखि चलिआएको विवाह पञ्चमी महोत्सवलाई हामीले निरन्तरता दिइरहेका छौं’, महन्थ रामरोशन दासले भने, ‘पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेलाई नै जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे। २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो।’
अयोध्याबाट जन्ती ल्याउन दुई देशका सरकार र तत्कालीन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको महन्थ बताउँछन्। पहिलो पटक चार–पाँच सय जन्ती गाडीमा आएका थिए। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख छ, त्यही बाटो भएर जन्ती आएका थिए। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रूपमा जन्ती ल्याउने गरिएको छ। विवाह पञ्चमीको अवसरमा मधेस प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको थियो। मधेस प्रदेश सरकारले विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा मनाउन सार्वजनिक बिदा दिएको हो।
साताव्यापी महोत्सवमा केके गरिन्छ?
पहिलो दिन
यही मंसिर १६ गते (आइतबार) यस वर्षको विवाह पञ्चमी महोत्सव सुरु भएको होे। पहिलो दिन नगर दर्शन कार्यक्रम गरिएको थियो। त्रेता युगमा भगवान् राम आफ्ना भाइहरूका साथ जनकपुर आउँदा नगर क्षेत्रको अवलोकन गरेको पौराणिक भनाइ छ। त्यसैको स्मरण गर्दै विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन झाँकी निकालिन्छ। जसमा राम, लक्ष्मण र उनका भाइहरूको प्रतीकस्वरूप स–साना बालबालिकालाई सजाएर नगर घुमाइन्छ।
दोस्रो दिन
महोत्सवको दोस्रो दिन सोमबार फूलबारी लीला मनाइएको थियो। भगवान् राम जनकपुरमा घुम्ने क्रममा पुष्पवाटिकामा छिरेका थिए, जहाँ सीता पनि आफ्नी बहिनी र साथीहरूसँग घुम्न निस्केकी थिइन्। राम र सीताको पहिलो भेट सोही वाटिकामा भएको स्मरणमा फूलबारी लीला मनाउने गरिन्छ।
तेस्रो दिन
महोत्सवको तेस्रो दिन मंगलबार धनुष यज्ञको आयोजना गरिएको थियो। सीताको विवाहका लागि बुवा जनकले सर्त राखेका थिए। उनले भगवान् शिवको धनुष जसले उचालेर त्यसमा प्रत्यञ्च (ताँदो) चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गरिदिने सर्त राखेका थिए।
उक्त सर्तसहित जनकले धनुष यज्ञ आयोजना गरेका थिए। यज्ञमा सहभागी अरूले उचाल्न नसकेको धनुष रामले सहजै उचालेर ताँदो राख्दा भाँचियो। जनकको सर्तअनुसार रामसँग सीताको बिहे भयो। यही प्रसंगलाई जीवन्त बनाउन धनुष यज्ञको आयोजना गरिन्छ।
चौथो दिन
महोत्सवको चौथो दिन बुधबार तिलकोत्सव भयो। रामले स्वयंवरको सर्त पूरा गरेपछि राजा जनक र अयोध्याका राजा दशरथबीच छोराछोरीको विवाहको मिति तय भेटघाट भएको पौराणिक कथन छ। त्यसैको सम्झनामा तिलकोत्सव मनाइन्छ।
तिलकोत्सवमा सीताका अभिभावकको भूमिकामा जानकी मन्दिरका महन्थ रामरोशन दास र रामको अभिभावकका रूपमा राम मन्दिरका महन्थ राम गिरी सहभागी भए। तिलकोत्सव कार्यक्रमका लागि जानकी मन्दिरबाट राम मन्दिरमा थरीथरीका मिठाइ, फलफूल र कोसेली (भार) पठाउने चलन छ। तिलकोत्सव कार्यक्रममै सम्धी भेटघाट हुन्छ।
पाँचौं दिन
महोत्सवको पाँचौं दिन बिहीबार मटकोर सम्पन्न भयो। पवित्र गंगासागर पोखरीबाट माटो खनेर ल्याएपछि सोही माटोले विवाह मडवा (मण्डप) लिप्ने विधिलाई मटकोर भनिन्छ। मटकोर कार्यक्रम गर्न जानकी मन्दिरबाट सीताको सवारी निस्केपछि त्यसलाई लाखौं श्रद्धालुले गीत गाउँदै र नृत्य गर्दै आशीर्वाद दिने गर्छन्।
छैटौं दिन
महोत्सवको छैटौं दिन विशेष हुन्छ। यस दिनलाई विवाह पञ्चमीका रूपमा मनाइन्छ। यसपटक पनि शुक्रबार परम्परागत रूपमा रामसीताको स्वयंवरसहित विवाह गरियो। जानकी मन्दिरबाट निकालिएको सीताको डोली र राम मन्दिरबाट निकालिएको रामको डोली बाह्रविघा मैदानमा लगेर अयोध्याबाट आएका साधुसन्तसहितको जन्तीका सामुन्ने स्वयंवर गराइन्छ। स्वयंवरपछि डोलीहरू मन्दिर फर्काइन्छ। साँझ जानकी मन्दिर परिसरमा बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ। यसपटक पनि परम्पराअनुसार रामसीता विवाह गरिएको छ।
सातौं दिन
महोत्सवको अन्तिम दिन रामकलेवा हुन्छ। रामकलेवामा अयोध्याबाट आएका साधुसन्तसहितका जन्ती र सहभागी अन्य श्रद्धालुलाई जानकी मन्दिरका तर्फबाट भोजको आयोजना गरिन्छ। भोजपछि साधुसन्तलाई कोसेली दिएर बिदा गरिन्छ। यसरी विवाह पञ्चमी सम्पन्न हुन्छ।
विवाह पञ्चमी मनाउन कहिलेदेखि थालियो भयो भने यकिनसाथ भन्न नसकिए पनि आधुनिक जनकपुरधामको निर्माणसँगै रामनवमी तथा विवाह पञ्चमी जस्ता मेला, उत्सवको सुरु भएको लोकविश्वास छ।
प्रकाशित: २२ मंसिर २०८१ ०८:४० शनिबार





