जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।
आज बेलुका चार बजेदेखि जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुष यज्ञ मनाइने छ। धनुष यज्ञ मनाउन रंगभूमि मैदानमा मञ्च बनाइएको छ। त्यही मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए। धनुष यज्ञमा राम जन्मभूमि भारतको अयोध्याबाट आएको जन्ती पनि सहभागी हुनेछ।
त्रेता युगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताकाे विवाह भएको थियो। त्यसकै सम्झनामा रामजानकी विवाह महोत्सव सुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ।
अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको सम्झनामा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन्।
सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ गराइएको थियो। दोस्रो दिन विवाह मण्डपको बंगैचामा फूलबारी लीला दर्शन गराइएको थियो।
चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ। छैटौं दिन अर्थात् मंसिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रंगभूमि मैदान पुर्याउने छ। त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ।
रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ।
प्रकाशित: १८ मंसिर २०८१ १०:२४ मंगलबार