सौराहा आउने अधिकांश पर्यटक हात्ती देखेर मख्ख पर्छन्। कतिपयले त पृष्ठभूमिमा हात्ती राखेर तस्बिर कैद गर्दछन्। हात्ती चढेर जंगल घुम्दा उनीहरु उत्साहित हुन्छन्। तर, पछिल्लो समय घुम्न जाने पर्यटक तथा सौरेलीलाई मकुनाले हैरानी दिएको छ।
चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रमा दाह्रा नभएको जङ्गली भाले हात्ती (मकुना)ले पर्यटक तथा स्थानीयलाई हैरानी दिएको हो । सौराहाका होटल तथा बस्तीमा पसेर मकुनाले एक महिनादेखि पर्यटक तथा स्थानियलाई त्रसित बनाएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताए। सौराहाका होटल व्यवसायीले पालेका निजी पोथी हात्तीको पछि लागेर बस्ती पसेको मकुनाले हिड्डुल गर्न समेत डर भइरहेको उनले बताए।
‘सौराहा क्षेत्रमा देखिएको मकुना अरु जङ्गली हात्ती जस्तो छैन। मान्छे देखेपछि लखेट्दै आउँछ,’ उनले भने ‘यसले पर्यटक तथा स्थानीयलाई धेरै त्रास पैदा गरेको छ।’ यसले अहिलेसम्म मानवीय क्षति नगरे पनि कृषकले लगाएको अन्न तथा होटलहरुका भौतिक संरचनामा समेत क्षति पुराएको उनले बताए । ‘अहिलेसम्म १२ वटा होटलको पर्खाल, ५ वटा घरका छाना भत्काइसकेको छ’, तामाङले भने ‘कृषकको खेतीपाती त धेरै नष्ट गरेको छ ।’
साँझ परेपछि निकुञ्ज प्रशासन, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र होटल व्यवसायीको टोली हात्ती धपाउन गस्तीमा निस्कनु परेको बताए । ‘सौराहामा पर्यटकको चहल पहल बढी छ । उनीहरु हात्ती देखेपछि घरपालुवा हात्ती नै मानेर नजिक आउन खोज्छन् । यसले गर्दा क्षति हुन सक्छ,’ उनले भने ‘एक महिना हुन लाग्यो हामी रातभर गस्तीमा हिँडिरहेका छौँ ।’
मकुना चितवनमा दोस्रो पटक देखा परेको हो। अघिल्लो वर्ष तीन महिना चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बसेर फर्किएको थियो । तर, बस्ती नै पसेर भौतिक संरचनामा क्षति पु¥याएको पहिलो पटक भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्त मगरले जानकारी दिए। बथान छोडेर आएको हात्तीको स्वभाव अन्य हात्तीको भन्दा फरक रहेको उनले बताए । यसलाई धपाउन हवाई फायर गरे पनि बस्ती नछाडेको उनले बताए । ‘हामीले पटक पटक थुप्रै राउन्ड गोली चलायौँ । यहाँबाट निकाल्न डार्ट गरेर २४ घण्टासम्म लठ्ठाउने औषधी पनि दिएका थियौँ सफल भएन,’ उनले भने ‘हामीलाई यहाँबाट निकाल्न कठिन भइरहेको छ।’
प्राय गरेर भाले हात्ती आहाराका लागि र पोथी हात्तीको खोजीमा बस्ती पस्ने गर्दछन् । यतिखेर सौराहामा रहेका निजी पोथी हात्तीलाई उसले हेरिरहेको छ । मकुनाको यौन शक्ति कम गर्नका लागि निकुञ्ज प्रशासनले शुक्रबार(आज) यौन शक्ति कम गर्ने औषधी दिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले बताए। ‘अहिले हात्ती एक्टिभ हुने सिजन पनि हो । हात्तीको मातलाई कम गर्न हामीले डार्ट मार्फत औषधी पनि दिएका छौँ’, उनले भने । हात्ती बस्तीमा पस्दा समस्या भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह समेत गरे।
हात्तीले बस्ती नछाडेपछि नेपाली सेना, मध्यवर्ती सामुदायिक वन, होटल व्यवसायी बिच संयुक्त रुपमा हात्ती धाउनका लागि थप गृह कार्य भइरहेको उनले बताए। मकुना कोसी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै चितवन राष्ट्रिय निकुञ्ज आइपुगेको अनुमान गरिएको छ।
निकुञ्जका अनुसार बथान छोडेर आएका यो समेत चार वटा हात्ती यहाँ छन् । रोनाल्डो, ध्रुवे र गोविन्दे चितवन राष्ट्रिय निकुञ्जका विभिन्न ठाउँमा छन्। यी हात्तीले समय–समयमा बस्तीमा पसी आतङ्क मच्चाउने गर्दै आएका छन्। गत वर्ष गोविन्दे हात्ती आएपछि मकुना भागेको थियो। अहिले गोविन्दे चितवन र मकवानपुरको सिमाना क्षेत्रमा रहेको छ। यतिखेर रोनाल्डो सौराहाको खोरसोरमा र धुव्रे मेघौली क्षेत्रमा रहेको छ। यी हात्तीहरू मकुना जस्तो घरीघरी बस्तीमा नआउने सहायक संरक्षण अधिकृत मगरले बताए।
प्रकाशित: १४ मंसिर २०८१ १८:२४ शुक्रबार