१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अदालतमा रविको ३ घण्टा लामो इन्कारी बयान

सहकारी ठगीका विषयमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बयान लिन सुरु भएको छ।

सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा उनीमाथि जिल्ला अदालत कास्कीमा बिहीबार ३ घण्टा बयान लिइएको हो।

कास्की प्रहरीले तयार पारेको प्रतिवेदन र सरकारी वकिलको कार्यालयले हालेको अभियोग पत्रका आधारमा न्यायाधीश नितिज राईले लिएको बयानमा उनले इन्कारी बयान दिएका छन्।

थुनछेक बयानका क्रममा उनले प्रहरीको प्रतिवेदन र अभियोग पत्रमा जस्तो आफूले सहकारीको रकम अपचलन वा दुरुपयोग नगरेको जिकिर गरेका हुन्।

उनले आफूले सहकारीको रकम ननिकालेको तथा सहकारीको रकम गोर्खा मिडियामा आएकोबारे पनि जानकारी नभएको जिकिर गरेका छन्। उसो त उनले अदालतमा मात्रै होइन, प्रहरीसँगको बयानमा समेत सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए। सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामासमेत यो कुरा उल्लेख छ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ। सोही मुद्दामा संलग्नहरूमाथि अहिले थुनछेक बयान लिने काम भइरहेको छ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सुरुमा पूर्व डिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो। उनीपछि लिला पछाईको बयान मंगलबार र बिहीबार लिइएपछि रविको बयान लिन सुरु गरिएको हो। रविको बयान शुक्रबारपनि निरन्तर चल्ने अदालत श्रोतले जनाएको छ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सो सहकारीका संस्थापक अध्यक्ष तथा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जिवी) सहित ६३ विरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।

पहिलो चरणमा १९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो भने दोस्रो चरणमा थप ४४ विरुद्ध पूरक अभियोजनमार्फत मुद्दा दायर गरिएको छ।

कुल ६३ प्रतिवादी मध्ये ५० जना व्यक्ति, ८ कम्पनी र थप ५ जनाको सम्पत्ति जफतका लागि मुद्दा दायर छ। उनीहरु विरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबी गरिएको छ।

रास्वपा सभापति तथा पूर्व गृहमन्त्री लामिछानेमाथि मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

लामिछानेले पोखराको सूर्य दर्शन सहकारीबाट ३ करोड ३७ लाख ६५ हजार अपचलन गरेको भन्दै सोही रकम बराबर बिगो दाबी गरिएको छ।

प्रकाशित: ११ पुस २०८१ २०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App