कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन्।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेश स्तरीय अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
मुख्यमन्त्री कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक जनशक्ति व्यवस्थापन गरी प्रभावकारी अनुसन्धान र द्रुत गतिमा उजुरी फर्स्यौटमा ध्यान दिन आग्रह गरे।
‘अख्तियारको कामप्रति सन्तुष्ट हुने अवस्था छैन’ कार्कीले भने ‘भ्रष्टाचारका उजुरी फास्ट ट्र्याकबाट फर्स्यौट गरी, आफ्नो कामको समीक्षा गर्नुहोस्।’
मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालहरूले कतिपय अवस्थामा नकारात्मक भावनाहरू विकास गर्न उत्प्रेरित गरिरहेकाले सामाजिक सञ्जालमा आउने नकारात्मक सन्देशहरूलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए।
कार्कीले पुराना ऐन कानुनहरूका कारण विकासका काममा अवरोध र गुणस्तरमा प्रश्न चिन्ह आउने गरेको बताए। उनले सार्वजनिक खरिद ऐनले समस्या निम्त्याएको सबै पक्षले महसुस गरेपनि सङ्घीय सरकारले समयानुकूल परिमार्जन गर्न नसकेको धारणा राखे।
कार्कीले भने ‘निर्माण व्यवसायी सरकार र सरोकारवालाहरूले सार्वजनिक खरिद ऐनमा समस्या देखे पनि सङ्घीय सरकारले संशोधन गर्न सकेको छैन।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताए।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रण गर्ने भन्दा पनि भ्रष्टाचार सम्बन्धी उजुरीहरूको छानबिन गरी अदालतमा पेश गर्ने निकाय भएको स्पष्ट पारे।
उनले भने ‘भ्रष्टाचार नियन्त्रणको काम अख्तियारको मात्रै हैन। भ्रष्टाचारको उजुरी परेमा छानबिन गरी मुद्दा दायर गर्ने काम हो।’
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र इटहरी कार्यालयले गरेका कामहरूकाबारेमा जानकारी गराइएको थियो। कार्यक्रममा मोरङका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रकाशित: ११ पुस २०८१ २०:२८ बिहीबार