घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ।धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ।
बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न आएका थिए। उनी कक्षा १० मा अध्ययन गरिरहेका छन्।धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको उनले बताए। यहाँको मनोरम दृश्यले रमाइलो लागेको उनले बताए।
“त्रिशूल र ॐपोखरी मन्दिरभित्र रहेको पार्कमा बिसाउँदा आनन्द आयो, फोटो पनि खिचेका छौँ, गाउँमा सबैलाई देखाउँछौँ र घुम्न जानु भन्छौँ”, उनले भने।धारापानीको जलाशयमा डुङ्गामा सयर गर्दा झन् धेरै रमाइलो लागेको उनले बताए।
बर्दिया नगरपालिका–३ राजापुरका सबिना केसी शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी पुगेकी थिइन। धारापानीको पर्यटकीयस्थलको कुरा मात्रै सुनेको अवलोकन गर्ने मौका नमिलेका कारण यस पटक धारापानीलाई गन्तव्य बनाएको उनले बताइन।उनका अनुसार अरूले भनेको सुनेको र आफूले देखेकामा फरक हुँदोरैछ।पर्यटकीयस्थलका रुपमा विकास भएको यो मन्दिर धेरै विकास भएको उनले बताइन।पछिल्लो समय पार्क सहितको पोखरीले झनै राम्रो भएको उनले बताइन।
घोराही बजारदेखि नौ किलोमिटर दक्षिण भागमा पर्ने धारापानी मन्दिर निजी सवारी साधन वा बस/अटोरिक्साबाट सजिलै पुग्न सकिने र सो स्थानसम्म सडक पक्की भएकाले स्थानीय तथा बाह्य पर्यटकहरुको उपस्थितिले चहलपहल भएको हो। धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको त्रिशूल निर्माण भएपछि धेरै जिल्लाका पर्यटकहरुको गन्तव्य बनेको हो।
पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउने तथा मङ्सिर महिना सुरु भएदेखि वनभोज खान आउने नागरिकको सङ्ख्या धेरै रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए। अघिल्लो शनिबार २२ समूह वनभोजका लागि आएको उनले बताए। दाङलगायत छिमेकी जिल्ला रुकुम, रोल्पा, सल्यान, प्यूठानसँगै, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, पाल्पा, सुर्खेत, जुम्ला, जाजरकोटलगायत अन्य जिल्लाबाट पर्यटक आउने गरेको उनले बताए।
मन्दिरमा जिल्लाभित्रका पर्यटक मात्रै नभई छिमेकी देश भारतबाट पनि प्रशस्त भक्तजन आउन थालेका छन्। यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको हो। “दाङ आएका मानिस धारापानी नपुगेर फर्केको छैन जस्तो लाग्छ”, उनले भने।
वनभोजका लागि प्रायः सबैजसो महिना भीडभाड हुने गर्छ। विश्वको सबैभन्दा अग्लो त्रिशूल, १०८ शिवलिङ्ग,१०८ वरपीपल जोडी,१०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ।नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ।
मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले मन्दिर प्रवेशगेट निर्माण र गेटदेखि मन्दिरसम्मको बाटोमा इँटा बिछ्याएर सबैलाई सहज पुग्न सक्ने व्यवस्था गरेको बताए। “गाडी पार्किङको व्यवस्था, सिमसार क्षेत्रलाई संरक्षण गरेर तलाउ निर्माण गरेका छौँ अहिले दुईवटा डुङ्गा सञ्चालनमा रहेका छन्”, उनले भने।
गुरुयोजना, दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए। धारापानी मन्दिरको शिरान सुनकोटमा देवीको मन्दिर तयार भइसकेको र भक्तजनको उपस्थिति पनि रहने गरेको उनले जानकारी दिए।धारापानी धामलाई धार्मिक र पर्यटकीय ग्रामका रुपमा विकसित गर्नका लागि दुईवटा खाजा घर, १२ पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए।
कोसेली घर स्थापना
उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ। कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ। स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष बोधिप्रसाद अधिकारीले जानकारी दिए।
दाङमा उत्पादन भएका माटोका भाडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की (गुन्द्रुक), सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए। आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय उत्पादन चिनाउने तथा स्थानीयले उत्पादन गरेको वस्तु बिक्री केन्द्र गर्ने माध्यम भएको उनले बताए।
जलाशयले थप्यो रौनकता
घोराही–५ धारापानी मन्दिरमा पर्यटकको आकर्षणका लागि जलाशयले रौनकता थपेको छ।पाण्डवेश्वर धार्मिक क्षेत्रको बृहत् पर्या–पर्यटन आयोजनाअन्तर्गत लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजन भएको एक करोडको लागतमा बृहत् जलाशय निर्माण गरिएको हो।
चार बिघा क्षेत्रफलमा फैलिएको जलाशय अहिले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए। यहाँ आउने भक्तजन र पर्र्यटकलाई जलाशयको डुङ्गा सयर गर्दा थप आकर्षण भएको उनले जानकारी दिए।
रञ्जिता अधिकारी/रासस
प्रकाशित: ४ मंसिर २०८१ १३:४७ मंगलबार