बेइजिङ घोषणापत्रको ३० औं वार्षिकोत्सवको अवसरमा थाइल्याण्डको बैंककमा ‘बेइजिङ प्लस ३० एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन’ सुरु भएको छ।
सम्मेलनको उद्घाटनमा विभिन्न देशका विशिष्ट प्रतिनिधिहरूले सम्बोधन गरे। संयुक्त राष्ट्र संघको संस्था ‘यूएन वुमन’ र ‘एसियाली आर्थिक तथा सामाजिक आयोग’ को सह-आयोजनामा भएको यो कार्यक्रममा एक हजार दुईसय प्रतिनिधिहरू सहभागी छन्।
सन् १९९५ मा चीनको बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनको ३०औं वार्षिकोत्सवलाई लक्षित गरी आयोजित यो क्षेत्रीय सम्मेलनले एसिया–प्यासिफिक क्षेत्रमा लैंगिक समानताको प्रगतिलाई समीक्षा गर्ने र सुधारका उपायहरू पहिचान गर्ने उद्देश्य राखेको छ।
संयुक्त राष्ट्रसंघ वुमनकी प्रबन्ध निर्देशक सिमा बाहोसले आफ्नो सम्बोधनमा बेइजिङ सम्मेलनपछि लैंगिक समानताको क्षेत्रमा केही प्रगति भए पनि सुधार गर्नुपर्ने धेरै पक्ष रहेको बताइन्।
उनले महिलाको शिक्षा, मातृ–शिशु मृत्युदर घटाउन र राजनीतिक तथा आर्थिक क्षेत्रमा सहभागितामा सुधार भएको उल्लेख गरिन्। तर, घरेलु कामकाजमा भने महिलाले पुरुषभन्दा पाँच गुणा बढी समय खर्च गर्नुपर्ने स्थिति अझै चुनौती रहेको जनाइन्।
उनले महिला हिंसाको अन्त्य, आर्थिक सशक्तीकरण र जलवायु संकटमा महिलाको सहभागिता बढाउन प्राथमिकताका साथ कार्य गर्न आवश्यक रहेको औंल्याइन्।
यसैगरी, एसियाली आर्थिक तथा सामाजिक आयोगका सचिव अमरिदा सैलिसह अलिसजाबन्दले जलवायु संकट र डिजिटल रूपान्तरणको व्यवस्थापनमा महिलाको नेतृत्व आवश्यक रहेको उल्लेख गरिन्।
उनले लैंगिक समानता कायम नगरीकन समाजमा असमानता हटाउन सम्भव नभएको बताइन्।
थाइल्याण्डका सामाजिक विकास तथा मानव सुरक्षा मन्त्री भरावुत सिल्पाले महिलालाई साधन र स्रोतमा नेतृत्वदायी भूमिकामा पुर्याउनुपर्ने बताए। उनले आर्थिक सशक्तीकरण र महिलामा लगानीको महत्त्व औंल्याउँदै लैंगिक असमानताको अन्त्यका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताए।
नेपालका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव आभा श्रेष्ठ कर्णले नेपालले लैंगिक असमानता अन्त्य गर्न गरेका पहलहरूको बारेमा जानकारी दिइन्।
उनले हानिकारक सामाजिक मान्यताहरूमाथि चुनौती दिन, महिलाको केयर कार्यको मान्यता स्थापित गर्न, डिजिटल पहुँचमा लैंगिक खाडल कम गर्न र महिला हिंसा न्यूनीकरण गर्न नेपाल प्रतिबद्ध रहेको बताइन्।
सम्मेलनमा सहभागी देशहरूले लैंगिक समानताको क्षेत्रमा प्रगति, चुनौती र समाधानका उपायहरू प्रस्तुत गर्नेछन्। सम्मेलनले आगामी मार्च २०२४ मा अमेरिकामा हुने विश्व सम्मेलनका एजेन्डाहरूलाई बलियो बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
लैंगिक समानताका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उद्घाटन समारोहका वक्ताहरूले जोड दिए। सम्मेलनले एसिया–प्यासिफिक क्षेत्रका देशहरूलाई समानता र समृद्धिका साझा लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।
प्रकाशित: ४ मंसिर २०८१ १९:४२ मंगलबार