५ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रतिष्ठानमा पुनः अनिश्चितकालीन तालाबन्दी, आकस्मिक बाहेक सबै सेवा ठप्प

.

.

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुनः अनिश्चितकालीन तालाबन्दी गरिएको छ। ५८ जना शिक्षक तथा कर्मचारीले बढुवाको माग गर्दै शनिबारदेखि प्रतिष्ठान प्रशासनमा तालाबन्दी गरेका हुन्।

कर्मचारीहरूले उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरी अदालतबाट लोकसेवा आयोगको परामर्श लिएर बढुवा प्रक्रिया अघि बढाउन आदेशसमेत गराइसकेका थिए। तर, अदालतको आदेश र कर्मचारीसँग भएका सहमतिहरूका बावजूद प्रतिष्ठानका पदाधिकारीले अटेर गरेपछि उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।

सहमति तोडिएको आरोप

कर्मचारीको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अघि बढाउने सहमति भएको थियो। २०८१ भदौ २६ गते अदालतले कर्मचारीको पक्षमा आदेश दिएको थियो भने गत कात्तिक २७ र २८ गते भएको वार्तामा प्रतिष्ठानको कार्यकारी परिषद् बैठकले कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

सोहीअनुसार, कात्तिक २८ गते प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सभा बैठकले सैद्धान्तिक सहमति दिएको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि सभामा कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने निर्णय घोषणा गरेका थिए।

तर, सैद्धान्तिक सहमति र सहमतिमा भएका निर्णयहरू कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

आकस्मिक सेवाबाहेक सबै ठप्प

तालाबन्दीका कारण प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक अन्य सबै नियमित सेवा बन्द छन्। लेखा अधिकृत इन्द्रराज डाँगीले भने, ‘प्रतिष्ठानको उन्नति र सेवा प्रवाहमा समस्या नहोस् भनेर हामी लागेका थियौं। तर, पदाधिकारीहरूले माग सम्बोधन गर्न अटेरी गरेपछि आन्दोलन हाम्रो बाध्यता बन्यो।’

प्रतिष्ठान जुम्लाका प्रशासकीय अधिकृत शाहीका अनुसार सोमबारदेखि ओपिडी सेवा र अन्य नियमित सेवा पूर्ण रूपमा बन्द छन्। कर्मचारीले जारी गरेको विज्ञप्तिमा माग पूरा नभए आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावनी दिइएको छ।

प्रतिष्ठानका शिक्षक र कर्मचारीले वृत्ति विकास, तलब भत्ता, र बढुवाका विषयमा पटक-पटक माग राख्दै आएका थिए। सभाबाट अनुमोदित निर्णयहरू कार्यान्वयन नभएको, र पदाधिकारीले आलटाल गरेको भन्दै आन्दोलन सुरु भएको हो।

तालाबन्दीले सेवाग्राहीलाई गम्भीर समस्या निम्त्याएको छ भने अस्पताल प्रशासनमा तत्काल समाधानका लागि दबाब बढेको छ।

प्रकाशित: ४ मंसिर २०८१ २१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App