९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कुटपिट गरी अभियन्ताको सामूहिक हत्या !

मृतकको शव दाहसंस्कारका लागि लैजाँदै। तस्बिर: योगेश रावल/नागरिक<br>

सञ्चारकर्मी सुरेश भुलको हत्या आरोपी एकजना अझै पक्राउ पर्न सकेका छैनन्। प्रहरीका अनुसार गौरीगंगा नगरपालिका वडा नम्बर-९ का ४० वर्षीय पवन बोगटी फरार छन्। किटानी जाहेरीमा उल्लेख भएका आठ मध्ये सात जनालाई भने प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-११ का ५५ वर्षीय जंगबहादुर भुल, २८ वर्षीय विशाल विक, ३१ वर्षीय दिनेश विक, १९ वर्षीय दिनेश भुल, ४५ वर्षीया बिस्ना भुल, ३८ वर्षीया रमा रावल र ३१ वर्षीय धर्मसिँह विक रहेका छन्।

सोही घटनामा संलग्न रहेको आरोपमा किटानी जाहेरी बाहेकको थप एकजना समेत पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले जानकारी दिएका छन्।

मृतककी श्रीमती कल्पना सार्कीले जाहेरीमा उल्लेख गरे अनुसार उनीहरुले भुललाई कात्तिक २४ गते साँझ गौरीगंगा नगरपालिका-११ कान्तिपुरमा कुटपिट गरेका थिए। भुलमाथि भइरहेको कुटपिटको भिडियो समेत भेटिएको छ। जुन भिडियोमा कुटपिटमा अन्य व्यक्तिहरु समेत संलग्न देखिन्छन्। 

उनीहरुले भुललाई बाख्रा चोरेको आरोपमा कुटपिट गरेका हुन। तीन दिन अघि हराएको स्थानीय बिस्ना भुलको बाख्रा कात्तिक २३ गते मृतक भुलको घरमा भेटिएको थियो। मृतक भुलले नजिकै रहेको वडा कार्यालयमा बिहानको समयमा भेटेको बाख्रा बाँधेर राखेको बताएका थिए। तर स्थानीयले भने उनलाई बाख्रा चोरीको आरोप लगाए।

यसै विषयमा गाउँलेहरुबिच वडा कार्यालयमा छलफल गरियो। बाख्रा धनी भुलले एक लाख क्षतिपूर्तिको माग गरिन। कुरा मिल्न नसकेपछि दुवै पक्ष इलाका प्रहरी कार्यालय मसुरीया पुग्यो। प्रहरीको रोहबरमा मृतक भुलले ३० हजार रुपैयाँ तिर्ने सहमति गरियो। तर प्रहरीले पैसाको लेनदेनका बारेमा जानकारी नभएको दाबी गरेको छ।

उनीहरुबिच कात्तिक २४ गते पैसा तिर्ने सहमति भएपछि घर फर्किए। बाख्रा धनी भुल बिहानै पैसा माग्न मृतकको घरमा पुगिन। मृतकले अरुसँग सापट मागेको र उनीहरु आउँदै गरेकाले केही समय पर्खिन आग्रह गरे।

भुल केही समयपछि फेरी आइन। उनले एक लाख रुपैयाँ नै चाहिने बताइन। मृतकले सहमति अनुसार नै पैसा तिर्ने बताए पछि दुवै पक्षबिच विवाद सुरु भयो। उनीहरुबिचको विवादले उग्र रूप लिँदै गयो। गाउँले सबै जम्मा हुँदै गए। अर्को गाउँबाट समेत मानिसहरु पुग्न थाले। स्थिति निकै उग्र बन्दै गयो।

केही व्यक्तिले मृतकलाई हातपात सुरु गरे। उनीहरुले निर्घात कुटेपछि मृतक घाइते भए। मृतकले उपचारका क्रममा दलित पत्रकारहरुको सोसल ग्रुपमा प्रहरीकै अघि आफू माथि कुटपिट भएको बताएका छन्। उनले प्रहरीले सहयोग नगरेको ग्रुपमा उल्लेख गरेको पत्रकार निराजन परियारले जानकारी दिए। तर प्रहरीले आफूहरू कुटपिट पछि मात्रै पुगेको दाबी गरेको छ।

सामूहिक कुटपिटबाट घाइते भएका मृतक भुललाई २४ गते राति नै उपचारका लागि धनगढी पुर्‍याइयो। उनले २५ गते केही व्यक्तिहरुलाई टेलिफोन गरेर घटनाको जानकारी समेत दिएका थिए।

दलित पत्रकारकै ग्रुपमा उनले सोमबार उजुरी दिने र आफूलाई साथ दिन आग्रह समेत गरेका थिए। उनको स्वास्थ्य अवस्था एक्कासि बिग्रियो। कात्तिक २६ गते (सोमबार) बिहान धनगढीस्थित निसर्ग अस्पतालमा उनको निधन भयो।

सूचनाको हकका अभियन्ता

उनी सञ्चारकर्मी मात्रै हैन सूचनाको हकका अभियन्ता समेत थिए। पत्रकारिता गर्दै गर्दा उनले सूचनाको हकका बारेमा जानकारी पाए। सूचनाको हक सम्बन्धी अभियानमा जोडिए। कैलाली जिल्ला स्तरीय समितिको सदस्य बने। उनले पत्रकारिताका साथै सूचनाको हक प्रयोग गरेर थुप्रै सूचना माग्न थाले।

उनले खासगरी वडा कार्यालय, सामुदायिक वन, सहकारी संस्था, विद्यालय लगायतमा सूचना माग्न थाले। उनले सूचना माग गरेर हरेक गलत क्रियाकलाप विरुद्ध खबरदारी गर्न थालेपछि यस्ता कार्यमा संलग्न व्यक्तिलाई टाउको दुखाई बन्यो।

कतिपयले त उनलाई धम्की दिएका पनि हुन। तर उनी डराएनन्। यो बारेमा उनले सूचनाको हक कैलालीको फेसबुक ग्रुपमा जानकारी पनि दिएका थिए। उनले त्यो ग्रुपमा सूचना माग्दा आफूलाई टार्गेटमा राखेको लेखेका छन्।

उनले कुनैपनि बेला आफू माथि आक्रमण हुनसक्ने कुराको संकेत गरेका थिए। उनले यस बारेमा चासो राख्न जिल्ला समितिलाई आग्रह समेत गरेको अध्यक्ष दीपक उपाध्यायले जानकारी दिए। ‘यस्तो घटना होला भन्ने अनुमान नै भएन’ उपाध्यायले भने–‘उनको हत्या सूचनाको माग गरेकै कारण हो भन्ने हामीलाई लागेको छ।’

मृतकका आफन्तले घटनालाई बाख्रा हराएको र भेटिएको सँग मात्रै जोडेर नहेर्न आग्रह गरेका छन्। उनीहरुले घटनाको बारेमा गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन्। सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी रविन्द्र केसीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। उनले घटनामा संलग्न सबैलाई कानुनी कारबाही हुने कुरामा शंका नगर्न आग्रह गरे।

वडा कार्यालय नजिक डेरामा बस्थे  

पूर्वपश्चिम राजमार्गको मसुरीया बजारबाट दक्षिण लागेपछि गौरीगंगा नगरपालिका-११ ऐँठा गाउँ पुगिन्छ। मृतक भुलको घर त्यही ऐँठामा छ। गाउँसम्मै कालोपत्रे सडक पुगेको छ। त्यही कालोपत्रे सडकको छेउमा उनको पक्की घर छ।

तर केही समय यता उनी ११ कै कान्तिपुरमा बस्थे। जहाँ वडा कार्यालय नजिकै उनको मेडिकल र फोटो स्टुडियो छ। उनकी श्रीमती त्यही रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत छन्।

घटनास्थल सुनसान छ। स्थानीय घटनाका बारेमा बोल्न मान्दैनन्। नजिकै रहेको वडा नम्बर-११ को कार्यालय समेत सुनसान छ। घटनापछि सेवाग्राही नआएको वडा सचिव लक्ष्मण चौधरीले बताए। उनले सामान्य घटनाले अनाहकमा ज्यान गएको बताए।

प्रकाशित: २९ कार्तिक २०८१ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App