४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सिराहा कारागारभित्र अवैध हतियार : नाइकेसहित १६ कैदी पक्राउ

सिरहा कारागारभित्र अवैध हतियार र गोली बरामद भएको छ। जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली बरामद भएको छ।

जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद बढेपछि कैदीबन्दीले तोडफोड आगजनी गरेका छन्। त्यसपछि पुगेको सुरक्षाकर्मीले तलासी लिँदा अवैध हतियार र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

कारागारभित्र भएको यस घटनापछि सिराहा प्रहरीले नाइके इन्द्रजित यादवसहित १६ जनालाई पक्राउ गरेको छ। यादवलाई पक्राउ गरेको विषयलाई लिएर जेलभित्रै उनको पक्षका कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका हुन्।

जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा नगद एक लाख २० हजार रुपैयाँ फेला परेको हो।

अनुगमनका क्रममा चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ।

कारागारभित्र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा कारागारका नाइके इन्द्रजित यादवसहित १६ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बहादुर पालका अनुसार कैदीबन्दीहरू गुटबन्दी गरी १० जना कैदीबन्दीलाई आँखामा पट्टी बाँधेर घरेलु हतियारले कुटपिट गरेको सूचना आएपछि सेना सहितको सुरक्षाकर्मी कारागार पुगेको थियो। प्रदेश प्रहरी कार्यालयबाट मगाइएको कुकुरसहित खानतलासी गर्दा अवैध कटुवा पेस्तोल, २ राउन्ड गोली र विभिन्न घरेलु हतियार बरामद गरिएको डिएसपी पालले बताए।

प्रकाशित: २७ माघ २०८२ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App