२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

हिउँदे वर्षात नहुँदा किसान चिन्तित

हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन्। गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।

भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गरे। ‘आशा गरेर रोपिएको बाली पानी नपाएर सुक्न थालेको छ,’ उनले भने, ‘अब पनि पानी नपरे नोक्सानी हुने डर छ। हिउँदेबाली पानी अभावमा सुक्न थालेको अवस्था छ।’

खेतीका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल बनेको छ। खोलानाला सुक्दै जानु र भूमिगत पानीको सतह घट्नुले सिँचाइ गर्न कठिनाइ भइरहेको किसान बताउँछन्। यस वर्ष समयमै पानी नपरे हिउँदे बालीको उत्पादन घट्ने किसानको भनाइ छ।  

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार खडेरीको असर जिल्लाभर देखिन थालेको छ। केन्द्रका प्राविधिकहरूले सम्भव भएसम्म वैकल्पिक सिँचाइ व्यवस्था अपनाउन र माटोमा चिस्यान जोगाउने उपाय अपनाउन किसानलाई सुझाव दिएका छन्। लामो खडेरीले हिउँदेबाली मात्र होइन, आगामी कृषिजन्य उत्पादन र किसानको जीवनस्तरमा समेत असर पार्ने चिन्ता बढ्दै गएको छ।  

प्रकाशित: ४ फाल्गुन २०८२ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App