७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरुलाई यातना दिएर यात्रा गराउने व्यक्ति प्रहरी खोरमा

ट्रकमा गोरु राखेर चरम यातना दिएको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन्। चन्द्रौटा कृष्णनगर सडक अन्तर्गत शिवराज नगरपालिका वडा नम्बर ७ जवाभरीमा बाराको निजगढ नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय कमल धामी पक्राउ परेका हुन।

यस्तो मुद्दा जिल्लामा पहिलो पटक लगाइएको हो। ना ६ ख ३७०८ नम्बरको ट्रकमा २१ वटा गोरुलाई यातना दिएर ढुवानी गरेको आरोपमा धामीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए। २१ वटा गोरु बाँधी राखेको, सबै गोरुहरूको पुच्छर ट्रकको छतमा डोरीले बाँधी झुन्डाएको, नाक डोरीले छेडी रगत निस्किरहेको, खुट्टा बाँधी पल्टाएको, त्रिपालले पुरै ढाकी स्वास(प्रश्वासमा अवरोध पुराएको अवस्थामा फेला पारिएको थियो।

इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पिछा गरी रोकेर चेकजाँच गर्ने क्रममा सो फेला पारिएको हो। एक ठाउँबाट अर्को ठाउमा ओसार्दा पशुहरूलाई मापदण्ड विपरीत क्रूर व्यवहार गरिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताए। बरामद गरिएको गोरुलाई सार्वजनिक स्थलमा छाडिएको थियो।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० (पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने) को (१) बमोजिम कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७ (सात) दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पशु ऐन २००५ र नियमावली ५६ अनुसार जिल्लामा राँगा र गोरु ढुवानी गर्दा सामान्य मापदण्ड समेत पालना गर्ने गरिएको छैन।

गोरु भने तस्करहरूले कृषि प्रयोजन भन्दै पूर्वी नाका हुँदै बङ्गलादेशमा पुर्‍याउने गरेका छन्।अहिले पक्राउ गरिएको गोरु समेत बङ्गलादेश मै लग्न थालिएको थियो। प्रहरीले पटक पटक प्रयास गर्दा समेत गोरु तस्करी नियन्त्रणमा समस्या आए पछि बाध्य भएर निर्दयी व्यवहार सम्बन्धी मुद्दा चलाएको जनाएको छ। दोषी ठहरिए ३ महिना कैद वा ५ हजार वा दुवै सजाय हुने प्रावधान छ। 

प्रकाशित: २४ कार्तिक २०८१ १६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App