२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा केवलकार निर्माण विवाद: झडपमा ६ जना घाइते

.

.

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा भएको विवादका क्रममा भएको झडपमा परी ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले दुई सुरक्षाकर्मी सहित ६ जना घाइते भएको जानकारी दिए। घाइतेमध्ये तीन जनालाई उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

केवलकार निर्माणको विपक्षमा रहेर आन्दोलनरत पहिचान पक्षधर र केवलकार निर्माणको पक्षमा रहेकाहरूबिच झडप र ढुङ्गा हानाहान भएको थियो।

पहिचान पक्षधर चन्द्र मादेन घाइते भए। यस्तै, फक्ताङलुङ गाउँपालिका-५ का अर्जुन लिम्बू, फुङलिङ नगरपालिका- ४ का दामोदर अधिकारी र मेरिङदेन गाउँपालिका- ४ का कुमार शेर्पा घाइते भएका छन्।

यस्तै, सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवलदार अभिनाझ माझी घाइते भएका छन्। घाइतेमध्ये अर्जुनको दाहिने कुममा चोट रहेको प्रहरीले बताएको छ।

मादेनको टाउको र दाहिने हातको चोरी औँलामा चोट रहेको छ भने अधिकारीको बायाँ आँखाको डिलमाथि र तल चोट रहेको प्रहरीले जानकारी दिएको छ।

शेर्पाको टाउकोमा चोट रहेको छ। सुरक्षाकर्मी बाहेक घाइते भएका मध्य मादेन केवलकार निर्माणको विपक्षमा तथा अधिकारी र अधिकारी र शेर्पा पक्षमा रहेको प्रहरीले भनेको छ।

अर्जुनलाई प्रहरीले सर्वसाधारण भनेको छ। यस्तै, घाइते सुरक्षाकर्मीमध्य ओलीको घुँडामुनि चोट रहेको छ भने माझीको दाहिने हातमा चोट रहेको छ।

केवलकार निर्माण स्थलमा एक्स्काभेटर मेसिन लाने विषयबाट विवाद सुरु भएपछि झडप भएको थियो। निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सने काफ्लेपाटीबाट केवलकार निर्माण स्थलतर्फ मेसिन लैजाँदा आन्दोलनरत पक्षले अवरोधको प्रयास गरेका थिए।

निर्माण स्थलतर्फ मेसिन लैजाँदै गर्दा प्रहरीले मेसिनको चाबी लिएको थियो। प्रहरीसँग चाबी मागेर केवलकार निर्माण पक्ष आन्दोलित बनेको थियो। त्यही क्रममा दुई पक्षबिच ढुंगा हानाहान भएर झडपको स्थिति सृजना भएको हो।

सुरक्षाकर्मीले झडप नियन्त्रणमा लिएपछि काफ्लेपाटी क्षेत्रमा देखिएको तनाव केही शान्त भएको छ। सो क्षेत्रमा सुरक्षावालको बाक्लो उपस्थिति तैनाथ गरिएको जिल्ला प्रहरी प्रमुख रावलले जनाए।

झडप थप उत्तेजित नबनाउन र तनावको स्थिति साम्य पार्न मेसिनको चाबी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीले नियन्त्रणमा लिएको मेसिनको चाबी शुक्रबार साँझ सम्म निर्माण कम्पनीलाई दिएको छैन।

यो समाचार तयार पार्दासम्म केवलकार निर्माण पक्षधर र केवलकार निर्माणको विरोधमा रहेका पक्षधर आ–आफ्नै क्षेत्रमा रहेका छन्। केवलकार निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदेमले बिहान केवलकार निर्माण कार्यको शिलान्यास गरिएको र निर्माण कार्य सुरु गर्न मेसिन लैजाने प्रयास जारी राखिएको जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८१ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App