२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सुरु भयो ‘कार्तिक नाच’

फाइल तस्वीर

भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित रहेर देखाइँदै आएको ‘कार्तिक नाच’ सुरु भएको छ। बुधबारदेखि पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा ‘कार्तिक नाच’ सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए।

‘भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित रहेर बुधबारदेखि हरेक दिन फरकफरक नाच देखाइने छ’, उनले भने, ‘आगामी कात्तिक ३० सम्म सञ्चालन हुने नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ। यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ।’

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनकल्याणका लागि हरेक कार्तिक महिनामा ‘कार्तिक नाच’ देखाउने प्रचलनको सुरुवात गरेका थिए।

३८३ वर्षदेखि देखाउँदै आएको यस नाचका सर्जक पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय हुन्। सुरुमा पाँच दिन देखाइएको यस नाचलाई सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन पु¥याएका थिए। आर्थिक अभावका कारण हाल यस नाच १० दिनमा सीमित गरिएको छ।

मल्लकालीन समयमा मैथिली भाषामा संवाद गरिने कार्तिक नाच हाल नेपाल भाषामा देखाइने गरिएको छ। ‘कार्तिक नाच’ संसारको सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा परिचित रहेको प्रचार–प्रसार समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायले दाबी गरे।

‘२७ दिन कार्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ’, उनले दाबी गरे, ‘हाल यस नाचलाई १० दिनमा खुम्च्याइएको छ।’ उनका अनुसार विसं २००७ को जनक्रान्तिपछि ‘कार्तिक नाच’ केही दिनमा खुम्च्याइयो। विसं २००८ देखि २०३७ सालसम्म वराह र नरसिंह अवतार मात्र देखाएर दुई दिन मात्रै देखाइयो।

कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच देखाइएको उनले बताए। ‘विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो’, उनले भने, ‘विसं २०७७ सालमा कोरोना महामारीका कारण दुई दिन नाच देखाइएको थियो। यस वर्ष १० दिन देखाइँदै छ। एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ। हामीले कार्तिक नाचलाई जगेर्ना मात्रै गर्न खोजेका हौं। यसलाई एक महिनासम्म सञ्चालन गर्न सकिने अवस्था तत्काल छैन।’

कलाकारहरूले व्यावसायिक रूपले यस क्षेत्रमा समय दिन नसकेका कारण कार्तिक नाच देखाउन पनि समस्या भएको उनले बताए।

नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रूपमा १० करोड रूपैयाँको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउन र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको छ। साथै कलाकारलाई पढ्नका लागि छात्रवृत्ति तथा स्वास्थ्य क्षेत्रमा बिमाको व्यवस्था गर्नेसमेत रहेको समितिका अध्यक्ष चित्रकारले बताए।

अक्षयकोष स्थापनाका लागि ललितपुर महानगरपालिकाले एक करोड रूपैयाँ र वडा नं १६ ले १० लाख रूपैयाँ उपलब्ध गराइसकेको र वडा नं ११ ले नौ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ।

प्रकाशित: २२ कार्तिक २०८१ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App