७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरामा १२ देशका ५६ पर्यटकले लगाए भाइटिका

पोखरामा आइतबार आयोजित भाइटिका महोत्सवमा १२ देशका ५६ जना विदेशी पर्यटकले भाइटिका लगाएका छन्।

नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटिकाको अवसरमा होटल संघ पोखराले हरेक वर्ष आयोजना गर्दै आएको भाइटिका महोत्सवमा आज ती पर्यटकलाई सामूहिक भाइटिका लगाइएको हो। 

भाइटिका महोत्सवको १७ औं श्रृंखला पोखराको लेकसाईडस्थित ल्याण्डमार्क होटलमा आयोजना गरिएको थियो। महोत्सवमा ईजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए। उनका अनुसार पर्यटकको संख्या उल्लेख्य भएपछि तीन चरण गरेर पर्यटकलाई भाइटिका लगाइएको छ।

संस्कृति बचाऔं, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा चिल्ड्रेन होम नेपालका छात्राहरूले भाइटिका लगाई दिएका हुन।

उनीहरुले विदेशी पर्यटकहरूलाई सप्तरङ्गी टिका लगाइदिए पश्चात् उपहार स्वरूप ढाका टोपी लगाइदिनुका साथै सेल रोटी खुवाएका थिए। भाइटिका लगाएर उपहार आदानप्रदान भएपछि तिनै छात्राहरूले तिहारको आकर्षणका रुपमा रहेको देउसी भैलो खेल्दै नाचगानसमेत गरेर मनोरञ्जन प्रदान गरे।

नेपाली संस्कृति अनुसार भाइटिका लगाएर नाचगानसमेत हेरेपछि पर्यटकहरू प्रफूल्ला भए। उनीहरुले नेपाली संस्कृति र परम्परा गज्जवको भएको प्रतिक्रिया दिए। नेपाली नाम लीला राखेकी एक चिनिया पर्यटकले भने,भाइटिका लगाउन पाउँदा एकदम प्रफुल्लित भएँ। पोखरा प्राकृतिक र संस्कृति दुबै हिसाबले अत्यन्त धनी रहेछ।’

संघले वर्षौं अघि सुरु गरेको भाइटिका महोत्सव पर्यटकलाई संस्कृति देखाएर आकर्षित गर्ने प्रयास भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। पारिवारिक वातावरण दिएर संस्कृतिमार्फत पर्यटक आकर्षित गर्ने हाम्रो प्रयास हो,उनले भने,यसले पर्यटकलाई दोहो¥याएर पोखरा आउने वातावरण बनाउँछ।’

संघका महासचिव राजेन्द्र ढकालले नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेको थियो।

प्रकाशित: १८ कार्तिक २०८१ १९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App