१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

नगरवासीलाई सहुलियत शुल्कमा फूल

यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ। पहिलोपटक परीक्षणका रूपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले बताए।

उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो। उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो।

नगरप्रमुख राजन श्रेष्ठले भने, “भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ।”

मखमली फूल प्रतिकिलो तीन सय ५० र सयपत्री प्रतिकिलो दुई सय रूपैयाँ शुल्क तोकिएको छ। उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले बताए। बजारमा हाल सयपत्री फूल प्रतिकिलो दुई सय ५० र मखमली चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो। लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ। 

प्रकाशित: १५ कार्तिक २०८१ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App