५ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले थुपारेको फोहोर ललितपुर महानगरले शनिबार उठाउने

फोहोर संकलनका लागि २ हजार स्वयंसेवक खटिने

<br>

ललितपुर महानगरले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लाष्टिक, कपडा र कागजजन्य फोहोर सङ्कलन गर्ने र उठाउने कार्य शनिवारबाट थाल्ने भएको छ।

बाढीले बगाएर ल्याएको यी फोहोर नख्खु र बागमती नदीको किनारामा छरपष्ट छन्। फोहोर सङ्कलनका लागि २ हजार भन्दा बढी स्वयंसेवक खटिने महानगरले जनाएको छ।

नदी किनारामा थुप्रिएका फोहर मैला सरसफाई सम्बन्धी तयारी बैठकमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बाढीले बगाएर ल्याएको फोहोर शनिबारदेखि उठाउन बताए।

उनले भने, ‘शनिवार बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔँ, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट रुपमा रहेका प्लाष्टिक, कागज र कपडा सङ्कलन गरौँ। सफा नभएसम्म गर्छौ।’

उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएर प्लाष्टिक लगायतका फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको बताए। नख्खु र बागमती नदीको किनारालाई प्लाष्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएमा दुख व्यक्त गरे।

फोहोर सङ्कलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुर लगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउने जनाएका छन्। महानगरको सरसफाई कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुनेछन्। महानगरले सफाई अभियानमा सहभागी हुन सबैलाई आव्हान गरेको छ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरको सौन्दर्य ह्रास ल्याएको बताउँदै वातावरण संरक्षणको दायित्व सबैको भएको बताइन्। बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउँदै सफाईको अभियान निरन्तर चल्ने प्रष्ट पारिन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाई अभियानमा जुट्न सबैलाई अनुरोध गरे। स्थलगत अनुगमनमा जाँदा सोचेको भन्दा धेरै क्षति भएको अवस्था देखिएको बताए। ‘अनुगमनमा जाँदा एकदमै भद्रगोल भएको छ, धेरै ठाउँमा सोचेभन्दा बढी क्षति छ।’

महानगरका प्रवक्ता एवम वडा नं-९ का अध्यक्ष राजु महर्जनका अनुसार नदीको किनारामा रहेका वडाहरु बाढीबाट धेरै प्रभावित भएका छन्। वडा नं-५, ६, १२, १६, १५,१९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन्।

प्रवक्ता महर्जनले फोहोर सङ्कलनका लागि क्लस्टर बनाएर क्लस्टर अनुसार स्वयंसेवक परिचालन गरिने बताए। उनले भने, ‘त्यसकै तयारी स्वरुप हामीले आजको बैठक राखेका हौं, आजको छलफलमा उठेका विषयलाई समेत समावेश गरेर विस्तृत जानकारी दिन्छौं।

प्रकाशित: ५ कार्तिक २०८१ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App