स्वास्थ्य, वातावरण तथा पर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले सदरमुकाम गाईघाटमा युवाहरूको सामूहिक साइक्लिङ यात्रा ‘गाईघाट कोरा च्यालेन्ज २०२४’ सम्पन्न भएको छ।
शनिबार त्रियुगा नगरपालिका ११ गाईघाट बजारको पिपल चोकदेखि सुरु साइक्लिङ समूहले विभिन्न ठाउँको यात्रा गर्दै ढिम्कीस्थित रत्ना रिसोर्टमा आएर समापन भएको थियो। गत असोज १२ गते शनिवार नै गर्ने भनिएको भए पनि अविरल वर्षाका कारण २१ दिनपछि धकेलिएर कार्तिक ०३ गते मात्र आयोजना गरिएको हो।
जिल्ला साइक्लिङ सङ्घको आयोजनामा भएको कोरा च्यालेन्ज गर्नुको मुख्य उदेश्य स्वास्थ्य तन्दुरुस्तीसँगै पर्यटन विकासमा सहयोग गर्नु रहेको छ। सङ्घका अध्यक्ष माधव बानियाका अनुसार यसले साइकलमार्फत विभिन्न ठाउँ पुगेर पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्नेछ। त्यस्तै समाजमा साइक्लिङ संस्कृतिको विकास हुने र साइक्लिङ गर्दा स्वास्थ्य तन्दुरुस्तीमा महत्त्वपूर्ण सहयोग पुग्छ।
‘साइक्लिङ गर्दा मानव स्वास्थ्यमा सहयोग पुग्छ, साइकल चढेरै जिल्लाका विभिन्न ठाउँ घुम्दा पर्यटन विकास पनि हुन्छ’ अध्यक्ष बानिया भन्छन् ‘त्यसैले साइकल यात्रा गर्दै जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूको चिनारी गराउने र पर्यटन संस्कृतिको पनि विकास गराउन कोरा च्यालेन्ज आयोजना गर्दै आएका छौँ।’
साइक्लिङ सङ्घ उदयपुरका संस्थापक अध्यक्ष जित रोइलाले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आधा दशकयता स्थानीय युवाहरूको समूह बनाएर घुमफिर गर्न सुरुआत गरेको बताए। त्यही समूह अहिले कोरा च्यालेन्ज कार्यक्रममा परिणत भएको रोइला बताउँछन्।यो छैठौँ संस्करणसम्म आइपुग्दा गाईघाटदेखि विभिन्न पर्यटकीय स्थलको भ्रमण साइकलबाटै गर्दै आएका छन्।
गाईघाटमा सन् २०१९ देखि सुरु भएको कोरा च्यालेन्ज हरेक वर्ष आयोजना गरिँदै आएको संस्थापक मध्येका एक बाबुराजा प्रजापतिले बताए। उनका अनुसार कार्यक्रम सहभागीहरूकै खर्चमा आयोजना गरिएको हो। प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले सङ्कलन गरी आफ्नै साइकल चढेर गाईघाटदेखि मोतिगडा, बगाहा, जलजले, चुहाडे, खाटमन्दिर, राजावास गहिरुन, आँखा अस्पताल, बोक्से हुँदै ढिम्कीस्थित रत्ना रिसोर्टसम्मको ३२ किलोमिटर यात्रा तय भएको प्रजापतिले बताए।
छैठौँ संस्करणको यात्रामा ९६ जना साइकल यात्रीले स्वसङ्कलित रकमबाट खाजा, पानी र टिसर्ट खरिद गरेर कार्यक्रम सम्पन्न गरेको उनले बताए। स्वास्थ्य र वातावरण बचाउनका लागि साइकल संस्कृतिको विकास गराउने तथा घुमफिर मार्फत आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले युवा जमातले थालेको यो कार्यक्रमलाई बृहत् बनाउन आवश्यक ठानेर युवाहरूले यो कार्यक्रम गर्दै आएको प्रजापति बताउँछन्।
साइकल यात्री टोलीलाई त्रियुगा नगरप्रमुख वसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाली सेनाको भुल्केस्थित नं. १८ बाहिनिपति सहायक रथी गौरब गुरुङ, जिल्ला प्रहरी प्रमुख एसपी हरिरहरनाथ योगी र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाइलीले बिदाइ तथा स्वागत गरेका थिए।
त्यसै गरी यात्री टोलीमा सहभागी साइकल यात्रीहरूलाई डोको बेकरी क्याफे गाईघाटले खाजाको प्रबन्ध गरेको तथा झिँगु नेवाः पुःच गाईघाटले स्वागत गरेको आयोजक सङ्घले जनाएको छ ।
प्रकाशित: ४ कार्तिक २०८१ १३:११ आइतबार




