२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

विपदबाट तीन अर्बको भौतिक संरचनामा क्षति

सहरी विकास मन्त्रालयको प्रतिवेदन

गत असोज ११ र १२ गते आएको अबिरल वर्षा सकिएको ११ दिनपछि सहरी विकास मन्त्रालयले मन्त्रालय मातहतका कार्यक्रम तथा योजनामा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले वर्षाका कारण देशभर भोलुंगे पुल, कोरिडोर, स्वास्थ्य चौकी, पर्खाल तथा सरकारी भवनमा दुई अर्ब ८८ करोड २४ लाख रूपैयाँ बराबरको क्षति भएको हिसाब निकालेको हो।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी क्षतिको विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह तथा मन्त्रालयका सचिव मनिराम गेलाल उपस्थित थिएनन्। जब कि, अबिरल वर्षा हुँदा सिंह कार्यवाहक प्रधानमन्त्री थिए। वर्षा सकिएको भोलिपल्टै भौतिक पूर्वाधार मन्त्रालय र ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालयले क्षतिको विवरण संकलन गरेका थिए। त्यसको भोलिपल्टै क्षतिको प्रारम्भिक अनुमानसमेत सार्वजनिक गरिएको थियो। यसअघि खानेपानी मन्त्रालयले पनि क्षतिको विवरण सार्वजनिक गरिसकेको छ।

पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता बिनु बज्राचार्यले गराएको जानकारीअनुसार वर्षाको कारण मन्त्रालयले बनाएका दुईवटा स्वास्थ्य चौकी भवनमा समेत क्षति पुगेको छ। जसबाट पाँच करोड ४६ लाख रूपैयाँ क्षति भएको छ।

यसैगरी मन्त्रालयमातहत रहेका ३५ वटा सडकमा क्षति पुगेको छ। यसमध्ये मन्त्रालयले आफैं खर्च व्यहोरी व्यवस्थापन गर्नुपर्ने बाटो स्तरोन्नति र सडक स्तरोन्नति कार्यक्रम रहेका छन्। यस कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनामा रटेरिङ वालमा क्षति पुगेको, नाला पुरिएको, ढलानमा क्षति भएको, पर्खाल भत्किएको, सडकमा ठुलाठुला खाल्डा भएको, स्मार्ट सडकका बत्तीमा क्षति पुगेको लगायत नोक्सानीको विवरण उल्लेख गरिएको छ। यसमा ११ करोड पाँच लाख सात हजार रूपैयाँ क्षति भएको मन्त्रालयले जनाएको छ।

यसैगरी अबिरल वर्षाका कारण मन्त्रालयले व्यवस्थापन गरेका पाँचवटा उद्यान पार्क तथा दुईवटा खेल मैदानमा क्षति भएको विवरण उल्लेख गरिएको छ। उद्यान पार्कमा रेलिङ तथा पर्खाल भत्किएको तथा खेल मैदानको ताराजालीमा पूर्ण क्षति भएको उल्लेख गरिएको छ।

यसैगरी मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग (डोली)ले सञ्चालन गर्ने कार्यक्रममध्ये दुई झोलुंगे पुलमा पूर्ण क्षति पुगेको छ भने २८ वटा पुलमा आंशिक क्षति पुगेको छ।

झोलुंगे पुलमा एक अर्ब ७७ करोड चार लाख रूपैयाँबराबर क्षति भएको विवरण उल्लेख गरिएको छ। यो भनेको मन्त्रालयमातहत क्षति भएकामध्ये यो सबैभन्दा बढी क्षति हो। वर्षाले उपत्यकाका नदीखोलामा पनि क्षति गरेको जनाइएको छ।

यसैगरी वर्षाले उपत्यकाका बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, बल्खु, नख्खु, हनुमन्ते, कर्मनासा लगायत नदी र खोलाको सतहमा माटो थपेको र गेग्रान निकालेर नोक्सान पुर्‍याएको जनाइएको छ।

यसैगरी नदीखोलाका पर्खाल र बाटामा समेत नोक्सान पुगेको उल्लेख गरिएको छ। यी क्षेत्र पुनर्निर्माण गर्न ८२ करोड ८१ लाख रूपैयाँ राज्यको खर्च हुने अनुमान गरिएको छ। वर्षाले धोबीखोला र बागमती नदी करिडोरमा समेत क्षति पुर्‍याएको छ। कोरिडोरअन्तर्गत रिटेनिङ वाल, बाटो र अन्य पूर्वाधारमा नोक्सानी पुगेको छ। मन्त्रालयका अनुसार कोरीडोरमध्ये करिब २४ किलोमिटर बाटोमै क्षति पुगेको छ।

क्षति पुगेको कोरिडोरलाई पुनर्निर्माण गर्न ११ करोड ४६ लाख रूपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ। मन्त्रालयले निर्माण गरेका चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा पर्खाल तथा सूर्यविनायक नगरपालिकामा सडक भासिएको मन्त्रालयले जनाएको छ। काठमाडौंको रोजबर्ड स्कुलनजिकैको पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। यो पुल पनि मन्त्रालयमातहत रहेको जनाइएको छ।

प्रकाशित: २४ आश्विन २०८१ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App