२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रौतहट प्रहरीलाई अपराधीको चुनौती, सडकमा रुख ढालेर यात्रुमाथि खुकुरी प्रहार

रौतहट प्रहरीले दसैँ, तिहार र छठ लक्षित सुरक्षा योजना सार्वजनिक गरेको भएपनि अपराधीले त्यसलाई चुनौती दिएको छ। रौतहटको ऐतिहासिक समनपुरलाई विर्ता हुँदै गरुडासित जोड्ने मूल कालोपत्रे सडकमै अपराधीहरुले लुटपाट गर्दै यात्रुमाथि खुकुरी प्रहार गरेका छन्।

घटना गरुडा नगरपालिका ९ नरकटियाको हो। मंगलवार साँझ करिब साढे ८ बजेको समयमा नरकटिया गाउँदेखि करिब १ किलोमिटर दक्षिण मूल सडकमा रुख ढालेर अपराधीहरुले यात्रीलाई लुटपाट गर्न खोजेको घटना सार्वजनिक भएको छ। लुटपाट गर्ने क्रममा यात्रुले प्रतिकार गर्दा अपराधीहरुले खुकुरी प्रहारसमेत गरेका छन्।

खुकुरी प्रहारबाट गढीमाई नगरपालिका १ समनपुरका कनाई साहको ३५ वर्षिय छोरा चन्दन साह गम्भीर घाइते भएका छन्।

ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा चढी गरुडाबाट आफ्नो घर समनपुरतर्फ जाँदै गरेका साहलाई अज्ञात मानिसले घेरा हाली उनको टाउको, टाउको पछाडि र बायाँ हातमा खुकुरी प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

साहलाई लुटपाट गर्न थालेपछि साहले प्रतिकार गर्न खोजेका थिए। साहले प्रतिकार गर्दा साहमाथि अपराधीले खुकुरी प्रहार गरेर घाइते बनाएका छन्। खुकुरी प्रहारपछि चिच्याउँदा नजिकको गाउँबाट स्थानीयहरु होहल्ला गर्दै आउन थालेपछि साहकै मोटरसाइकल लिएर अपराधी भागेका थिए। तर, केही पर गएपछि मोटरसाइकल ढलेपछि अपराधीले मोटरसाइकल छाडेर फरार भएका थिए।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका साहको सरस्वती हस्पिटल गरुडामा उपचार भइरहेको छ। साहलाई कसले खुकुरी प्रहार गरेको भन्ने खुली नसकेको तथा आक्रमणमा संलग्न व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए। साह हाल बोल्ने अवस्थामा नरहेको हुँदा अवस्था चिन्ताजनक रहेको परिवारिक स्रोतले जनाएको छ।

गरुडा ट्राफिकको मनपरी

अस्थायी ट्राफिक प्रहरी पोस्ट गरुडाको मनपरी देखिएको छ। दिनभरि मोटरसाइकल लक्षित हेलमेट, ब्लुबुक र लाइसेन्स चेकजाँच गरी मनपर्दी गरिरहेको अस्थायी ट्राफिक प्रहरीले एउटा टेम्पोमा नियम विपरीत १० जनासम्म बस्दा पनि केही गरेको देखिँदैन।

करिब ७० प्रतिशत टेम्पो, अटोरिक्सा चालकसित लाइसेन्स नरहेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी गरुडाले टेम्पो, अटोरिक्सा चालकको लाइसेन्स चेक नगरेको र नियमविपरीत अत्यधिक यात्रु बोक्ने गरेको प्रति पनि ध्यान नदिएको र मोटरसाइकल चालकबाट राजस्व असुल उपर गर्ने गरेको गुनासो बढेको छ।

औषधि किन्न हिँडेका, बिरामी लिएर अस्पतालतर्फ जाँदै गरेका तथा कुनै इमरजेन्सीमा परेर हतारमा बिना लाइसेन्स कतै यात्रा गरिरहेका यात्रुको ब्लुबुक लिएर अस्थायी ट्राफिक प्रहरीले साँझपख कार्यालयमा भेट्न बोलाउने गरेको पाइएको छ।

साँझ सबै कागजपत्र लिएर पुग्ने यात्रुसँग अस्थायी ट्राफिक प्रहरी पोस्ट गरुडाका सहायक हवलदार सन्तोष रामले तिन सय रुपैयाँ लिएर कागजपत्र फिर्ता दिने गरेको पीडितहरुले बताएका छन्।

यसैगरी साँझ भेट्न बोलाएका व्यक्तिसँग सहायक हवलदार रामले असभ्य भाषाको प्रयोग गर्ने गरेको पनि सर्वसाधारणले बताएका छन्।

प्रकाशित: २३ आश्विन २०८१ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App