१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

लुइँयाटा हुँदै रकु जोड्ने सडक शिलान्यास

कालीकोटको सान्नित्रिवेणी गाउँपालिका–३ को लुइँयाटादेखि कालढुङ्गा हुँदै रकु जोड्ने सडकको शिलान्यास गरिएको छ।

आर्थिक वर्ष २०८२/०८३ का लागि समपुरक बजेटअन्तर्गत ८० प्रतिशत र सान्नित्रिवेणी गाउँपालिकाको २० प्रतिशत साझेदारीमा कुल ७ करोड १७ लाख रुपैयाँको लागतमा ठेक्का आह्वान गरिएको थियो। उक्त आयोजनाको ठेक्का जगदम्बा अभियान–ईभाना जे.भी.ले ५ करोड ९८ लाख रुपैयाँमा सम्झौता गरी काम सुरु गरेको छ। लुइँयाटा खोला–कालढुङ्गा–रकु सडकमा विस्फोटक पदार्थ प्रयोग गरी शिलान्यास गरिएको हो।

शिलान्यासपछि सान्नित्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले आजकै मितिबाट विस्फोटक पदार्थ प्रयोगसहित निर्माण कार्य सुरु गरी समयमै ट्र्याक खोल्न निर्माण व्यवसायीलाई आग्रह गरिन्।

त्यसैगरी, शिलान्यास कार्यक्रमपछि गाउँपालिका अध्यक्ष मोहन केसीले निर्माण कम्पनीलाई समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न अनुरोध गरे।

यो सडक निर्माण सम्पन्न भएपछि सान्नित्रिवेणी गाउँपालिकाका विभिन्न वडाहरूमा यातायात पहुँच सहज हुने र स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सडक निर्माणसँगै सान्नित्रिवेणी गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालमा जोडिनेछन्। विशेषगरी वडा नं. ३ को लुइँयाटा हुँदै वडा नं. २ र वडा नं. १ को लुसा सडक सञ्जालमार्फत पालिका केन्द्रसँग जोडिनेछन्। सबै वडालाई केन्द्रसँग जोड्ने लक्ष्यअनुसार गाउँपालिकाले चरणबद्ध रूपमा सडक सञ्जाल विस्तार गर्दै आएको छ।

प्रकाशित: १८ माघ २०८२ २०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App