नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
सोमबार आफ्नो निर्वाचन क्षेत्रमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आफ्ना प्रतिस्पर्धी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई यस क्षेत्रमा कसैले नचिन्ने टिप्पणी गरे।
निर्वाचन प्रचारप्रसारका क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘यस निर्वाचन क्षेत्रमा उहाँ (बालेन शाह) लाई कसैले चिन्दैनन्।’
आफूले यस क्षेत्रको र समग्र देशको विकासका लागि काम गरेकाले जनताले आफूलाई नै रोज्नेमा आफू विश्वस्त रहेको उनले बताए।
‘मैले यो क्षेत्रका जनता र देशको विकासका लागि काम गरेको छु, जुन कुरा जनतालाई राम्रोसँग थाहा छ,’ उनले भने।
अन्य प्रतिस्पर्धीहरूबारे बोल्दै ओलीले उनीहरूमा अनुभवको कमी रहेको औंल्याए। उनले भने, ‘अन्य उम्मेदवारहरू सबै नयाँ छन्, उनीहरूसँग कुनै अनुभव छैन। कतिपय त नकारात्मक रूपमा परीक्षण भइसकेका छन्।’
भ्रष्टाचारसम्बन्धी सोधिएको प्रश्नमा अध्यक्ष ओलीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने अडानमा कायम रहेको बताए। उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि धेरै निकायहरू छन्। म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने मेरो प्रतिबद्धता हो र त्यसमा म अडिग छु।’
विगतका अनुभवहरूलाई संगाल्दै यसपटक आफूले अझ धेरै र फरक ढंगले देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता समेत ओलीले व्यक्त गरे।
प्रकाशित: १८ फाल्गुन २०८२ १६:०७ सोमबार





