दशैं मनाउन यो बेला काठमाडौं उपत्यकाबाट गाउँजानेहरुको लर्को नै देखिन्छ। वर्ष दिनमा आउने चाड मनाउन काठमाडौंमा रहेको आफ्नो घर/कोठामा ताल्चा लगाएर सपरिवार गाउँ गएपछि चोरी/डकैतीका घटनाहरु विगतदेखि नै हुँदै आएका छन्।
प्रहरीले विशेष योजना नै बनाएर दशैंतिहार जस्ता चाडपर्वमा सुरक्षा दिने गरेको छ। यो वर्ष पनि जिल्ला प्रहरी परिसर काठमाडौंले चाडवाड लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकेको छ।
के छन् त योजना ? कसरी दिँदै छ प्रहरीले यो वर्ष सुरक्षा ? यो विषयमा नागरिककर्मी तेजेन्द्र काफ्ले र टपेन्द्र कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेसँग कुरा गरेका छन्। सोही कुराकानीको सम्पादित अंश।
काठमाडौं प्रहरी परिसरले चाडवाड लक्षित सुरक्षा योजना ल्याएको छ। के–के छन् यसमा ?
हामीले विगतका अनुभवलाई समेत समेटेर यो योजना ल्याएका छौं। चाडवाड सुरक्षा योजनामा के–के कुरालाई समेटेर सुरक्षा दिन सक्छौं भन्ने कुराहरु केलाएका छौं। सम्भावित अपराधहरु पहिला पहिचान गरेका छौं। सम्भावित अपराध हुने स्थानहरु पहिचान गरेका छौं। ती सबै कुराहरुलाई कम गर्न र त्यस्ता व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन के–के क्रियाकलापहरु गर्छौ भन्ने कुराहरु यो योजनामा उल्लेख छ। यसमा हामीले कति संख्यामा प्रहरी चाहिन्छ र कसरी परिचालन गर्ने भन्ने योजना पनि बनाएका छौं। स्रोतसाधनको कुरालाई कसरी अत्यधिक प्रयोग गर्ने र सम्भावित अपराधलाई कसरी कम गर्ने, भइसकेको अपराधलाई कसरी तत्काल कानुनको दायरमा ल्याउने कुराहरु यसमा छन्।
प्रहरी कति परिचालन गर्दै हुनुहुन्छ ?
काठमाडौंको हकमा हामीले ३७ सयको हाराहारीमा प्रहरी परिचालन गर्ने तयारी गरेका छौं। आजैको दिनमा पनि डग स्निपिङको काम भइरहेको छ। विभिन्न ठाउँमा स्विप अपरेशन चलाइरहेका छौं। मोबाइल गस्ती, सादा पोशाकमा, ईक्युआरटी, मोटरसाइकलमा गस्ती लगातार चलिरहेको छ। एकैदिन ७५ वटा मोटरसाइकल फिल्डमा छन्। १४ जना डीएसपीको कमान्डमा टोलीहरु खटिएको छ। मसहित काठमाडौंको एसएसपीदेखि तल जवानसम्म सबै यसमा कन्सियस भएर हामी लागिरहेका छौं।
बढी अपराध हुने ठाउँहरु काठमाडौंभित्र कहाँ कहाँ रहेछन् ?
सामान्यतयाः अपराधको प्रकृति हुन्छ। तपाईंले फोकस गर्नुभएको पकेटमारी कहाँ हुन सक्छ ? कालोबजारी कहाँ हुन सक्छ ? यात्रुलाई कहाँ समस्या हुन सक्छ ? किनमेल गर्न कहाँ अप्ठेरो हुन सक्छ भन्ने कुराहरु हुन जस्तो लाग्छ। अहिले काठमाडौंको एरियामा चारैतिर हेर्ने हो भने लगभग लगभग भिडभाड हुने स्थानहरु सुरु भइरहेको अवस्था छ। बुढानीलकण्ठमा पनि किनमेल गर्ने ठाउँ छ, महाराजगञ्जमा पनि छ। कोटेश्वरमा पनि छ अनि कलंकीमा पनि। यी ठाउँहरु नयाँ विकास भइरहेका ठाउँहरु हुन् भने पुरानो भिडभाड हुने ठाउँहरु भनेको न्युरोड, असनहरु भए। जहाँ बढी आर्थिक कारोबार हुन्छ र जहाँ सुनसान हुन्छ त्यहाँ नै बढी अपराध हुने गर्छ। स्थान विशेषलाई तोकेर हेर्ने हो भने सीपीए हामीले गरेकै छौं। सीपीए गर्दा महारागजञ्ज, बसपार्क, कालीमाटीलगायत क्षेत्रमा अपराधको प्रकृति हेरेर केही अपराधहरु त्यहाँ देखिन्छन्। अन्य ठाउँहरु पनि सम्भावित हुन सक्छन्। त्यसैले यहीँ ठाउँमा मात्रै अपराध हुन सक्छ भनेर हैन कि हरेक ठाउँमा उत्तिकै निगरानी भइरहेको छ। १४ वटा पकेट क्षेत्रहरुमा कुन कुन ठाउँमा अपराध हुन सक्छ भनेर छुट्टाछुट्टै बनाएर हामीले योजना बनाएका छौं।
काठमाडौंबाट सर्वसाधारणहरु दशैं मनाउन घर जान थालिसकेका छन्। उनीहरुले आफ्नो घर–कोठा सुरक्षित छ भनेर ढुक्क हुने अवस्था हो ?
दशैंको मात्र कुरा गर्ने हो भने अपराधहरु लगभग उस्तै–उस्तै हुन्छ। जसमा स्नाचिङ, पिकपकेटिङ, कालोबजारीका कुराहरु आउँछन्। दसैंमा टिकट बढी मूल्यमा बिक्री गर्ने कुराहरु धेरै नै आउँछन्। पछिल्लो समय भने ठगीका कुराहरु पनि बढी नै आइरहेका छन्। मान्छेहरु बिदामा बसेको मौका छोपेर साइबर क्राइमबाट पनि अपराध हुन सक्ने अवस्था पनि रहन्छ। अब मान्छे कोसँग नजिक हुन्छ भन्ने कुराले अर्थ राख्ने भयो। मान्छे र मान्छे ठोक्किए भने अफेन्स हुन सक्छ भने त्यहाँ ग्याजेट छ भने ग्याजेटको माध्यमबाट अफेन्स हुन सक्दैन भन्ने भएन। यसमा पनि प्रहरी सचेत छ।
सामूहिक अपराधका घटना बढी हुने रहेछन् कि एकल अपराधका, के पाउनु भयो ?
सबै सम्भावनाहरु कायम रहन्छन्। प्रहरीले हेर्दा त्यो सबै सम्भावनालाई लिएर सुरक्षा योजना तयार गरेको छ। प्रहरी सादा पोसाकमा बस्नेदेखि लिएर मोबाइल सेट र मोटरसाइकलसहित दुई जनाको ईक्यूआरटीदेखि लिएर ७–८ जनाको टोली परिचालन हुने गरी गाडी तयारी अवस्थामा राखिएको छ। अलिकति ठुलो घटना भएको अवस्थामा टोली परिचालन हुने गरी तयारी अवस्थामा छौं। त्यहीँ भएर पहिलो रेस्पोन्स हामीले ५ देखि १० मिनेटमा गर्छौं र बृहत् प्रतिकार्य गर्नुपर्ने भए ३० मिनेट भित्रमा गर्छाैं। यहीँ अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले आफ्नो योजना बनाएको छ।
दशैंतिहार जस्ता चाडपर्वमा हुने अपराधको प्रकृतिमा परिवर्तन आएको छ कि उहीँ र उस्तै शैली अपनाइरहेका छन् अपराधीहरूले ?
यो भनेको के हो भने जिम्मेवारीको कुरा पनि आउँछ। जिम्मेवारी कस-कस्को हुन्छ भन्ने कुराहरु यसमा महत्त्वपूर्ण हुन्छ। अपराध गर्दा जसरी कन्ट्रोल थेउरी आउँछ उसैगरी अपराध गर्नेलाई पनि पहिला त आफू सुरक्षित भएको हुनुपर्छ। हामीले यसपटकको नारामै भनेका छौं, नागरिक स्वयंको समझदारी, प्रहरीको निरन्तर निगरानी, बनाऔं सुरक्षित राजधानी। यसले अपराध गर्ने र पीडितहरुका लागि महत्त्वपूर्ण सन्देश दिइरहेको छ। यसको अर्थ के हो भने तपाईंले आफ्नो सुरक्षाको व्यवस्था पहिला गर्नुहोस्। त्यसपछि तपाईं प्रहरीसँगको सम्पर्कमा बस्नुहोस्।
पहिला भने आफ्नो सामानको सुरक्षा आफैं गर्नु पर्छ। सकेसम्म घर एक्लै नछाड्नुहोस्। छोड्नु पर्छ भने डेरामा बस्ने, छिमेकमा बस्ने, टोलमा बस्ने र प्रहरीलाई जानकारी गराउनुहोस्। हाम्रो निरन्तर गस्ती, निरन्तर सहयोग र निरन्तर निगरानी चैँ हाम्रो सधैं रहनेनै छ। तपाईंहरुले शंकास्पद व्यक्ति टोलमा देख्नु भयो भने प्रहरीलाई जानकारी गराउनुहोस्। त्यस्तो भयो भने हामी तत्काल रेस्पोन्स गर्नेछौं।
अपराधको पछिल्लो प्रकृति हेर्ने हो भने सुरक्षा योजना भनेर तपाईंहरुलाई सबै छाड्नुहोस्, घरमा ताल्चा लगाउनुहोस्, घर खुला राख्नुहोस् र जानुहोस् भनेर भन्न खोजेको हैन। तपाईंको सुरक्षाका लागि प्रहरी जिम्मेवार छ। प्रहरी दिनरात खटिन्छ। प्रहरी टोलटोल र घरघरमा जान्छ तर तपाईंहरुले राख्नु पर्ने आफ्नो सावधानी पनि राख्नुहोस्। यसरी गर्यौ भने हामीले राजधानीलाई सुरक्षित राख्न सक्छौं भनेर भनेको हो।
काठमाडौं उपत्यकाका ग्रामीण भेगहरूमा सुरक्षाको व्यवस्था कस्तो छ ?
पक्कै पनि। जिल्ला प्रहरी परिसर काठमाडौंले नै यो योजना बनाउँछ। कतिपय अवस्थामा सानो–सानो युनिटहरुमा पनि यस्तो छ है भनेर जानकारी दिन्छ। त्यसो गर्दा गस्ती गर्नुपर्ने कुरा त्यहीँबाट हुन्छ भने सम्पूर्ण योजना भने जिल्ला प्रहरी परिसर काठमाडौंले तयार गर्छ।
दसैं तिहारमा बढी हुने अर्को पक्ष भने अखाद्य पदार्थको बिक्रीवितरण पनि हो। खाद्यपदार्थको बिक्री वितरणमा हुने कालोबजारी पनि छ। यो विषयमा प्रहरी कत्तिको चनाखो छ ?
यो सामूहिक प्रयासले हुने कुरा हो। केही दिनअघि मात्र हामीले कीर्तिपुरमा त्यहाँको नगरपालिकासँग मिलेर एउटा अपरेशन संयुक्त रुपमा गरेका छौं। त्यसलाई डिस्पोज पनि गरेको छ। नगरपालिका भयो, स्थानीय प्रशासन भयो, प्रहरी भयो हामी सबै मिलेर यसमा निरन्तर निगरानी गरिरहेका छौं।
जिल्ला प्रशासनले पनि एउटा स्टिकर नै सार्वजनिक गरेर यस्तो कहीँ कतै पाइए खबर गर्नु भनेको छ। हामीले पनि आफ्नो फोन नम्बरहरु दिएर कालोबजारी, अखाद्य पदार्थको बिक्रीवितरणबारे जानकारी गराउनुहोस् भनेका छौं। यो बारे निरन्तर सूचना पनि जारी गराइरहेका छौं। कसैले कालोबजारी गरेको खण्डमा र अखाद्य पदार्थ बेचेको खण्डमा कारबाहीको भागीदार चैँ बन्नु पर्छ। म उम्किन्छु भन्ने सम्भावना छैन।
दशैं मनाउन बाहिर जाने लामो तथा छोटो दुरीका यात्रुहरु बारम्बार ठगीमा परिरहेका छन्। यो क्रम नियन्त्रणका लागि के छ तपाईंसँग योजना ?
यात्रुहरुलाई समस्या हुन सक्छ, लामो दुरीमा यात्रुहरु ठगिने अवस्था हुन सक्छ भनेर हो हामीले हेल्प डेस्क राखेको। काठमाडौंका विभिन्न १५ स्थानमा हेल्प डेस्क राखेर अहिले हामीले नागरिकलाई सेवा प्रदान गरिरहेका छौं। नागरिक भने त्यहाँ सेवा लिन चैँ जानु पर्छ अथवा सूचना भने दिनु पर्छ। त्यस्तो भएका खण्डमा सम्बन्धित व्यक्ति, त्यस्ता सवारी साधनलाई कारबाहीको दायरामा ल्याइन्छ। यो क्रम सुरु पनि भइसकेको छ। यसमा हाम्रो निरन्तर निगरानी छ। नागरिकले निर्धक्कसँग प्रहरीलाई सूचना दिनुभयो भने यात्राका क्रममा नागरिकलाई सास्ती दिने, दुःख दिने जोकोहीलाई हामी कारबाहीको दायरामा ल्याउँछौं।
प्रकाशित: २१ आश्विन २०८१ १८:५४ सोमबार