१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

चाडबाड लक्षित बजार अनुगमन तीव्र, ४ फर्मलाई जरिवाना

बजार अनुगमन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीलगायत टोली। तस्बिरः महेश्वर

उदयपुरमा नजिकिएको चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरिएको छ।

दसैँ, तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय उदयपुरले थालेको बजार अनुगमनमा उपभोक्ता हितविपरित गर्ने ४ व्यापारिक फर्महरू कारबाहीमा परेका हुन्।

अनुगमनको क्रममा म्याद गुज्रेका सामग्री तथा पेय पदार्थ बेच्ने गरेको, मापदण्डबिपरित अन्य कार्य गरेको तथा मूल्य सूचि नराखी बिक्री वितरण गरेर ग्राहक ठग्ने गरेकोजस्ता कमजोरी गर्नेहरू कारबाहीमा परेका हुन्। जिल्ला अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी नेतृत्वको टोलीले नियम विपरीत गरेका पसलहरूलाई कारबाही गरेको हो।

टोली संयोजक रेग्मीले गल्ती गर्ने व्यापारी व्यवसायीलाई कानुन अनुसार कारबाही गरिएको बताए। सुरुवाती चरणमा भएकाले गाईघाट, बोक्सेलगायत मुख्य गोदाम क्षेत्र र अन्य चल्ती बजार क्षेत्रमा गरेको अनुगमनमा कमजोरी गरेको पाइएपछि ४ वटा पसल कारबाहीमा परेको सहायक सिडिओ रेग्मीले बताए। उनीहरुलाई गरिएको कारबाहीबाट ७२ हजार रुपैँया राजश्व संकलन भएको उनको भनाई छ।

म्याद सकिएको खाद्यान्न तथा चिसो पेय पदार्थ बेच्ने, मापदण्ड अनुसार अन्य कुराहरु पुरा नगरेकाहरू करबाहीको दायरामा ल्याइएको उनले बताए। मंगलबार जम्मा १८ वटा पसलमा गरिएको अनुगमनमा मापदण्ड नपुगेका तथा अनियमित गर्ने ती पसलहरू कारबाहीमा परेका हुन्। जसमा गाईघाटस्थित सत्यन्त्र सप्लयार्स कोर्डिङ डिलर ४० हजार जरिवानाको भागीदार भएको छ।

त्यस्तै त्रियुगा नगरपालिका १० बोक्से करमगाछीस्थित रुपेश किराना पसललाई १५ हजार जरिवाना तिराइएको छ भने प्रशान्त किराना पसललाई १० हजार जरिवाना गराइएको छ। अनुगमन टोलीले पुजा मिष्टान्नलाई ७ हजार जरिवाना तिराएको करदाता सेवा कार्यालय गाईघाटका नासु देवन राईले बताए।

जरिवाना तिराएसँगै ती पसललाई आगामी दिनमा त्यस्तो गैर कानुनी काम नदुहो¥याउन पनि सख्त चेतावनी दिइएको छ। यदि अर्को पटकको अनुगमनमा पनि यस्तो गल्ती गरेको भेटिए दोब्बर वा त्यो भन्दा बढी जरिवाना र अन्य कानुनी कारबाही गर्ने चेतावनी सचेत टोलीले दिएको छ।

चाउचाउ, बिस्कुट, दुनोट, पाउरोटीजस्ता म्याद गुज्रेको खाद्य पदार्थहरू, कोक, फेन्टा, डिउ, पेप्सी, रेडबुलजस्ता पेय पदार्थहरू बेचेको पाइएपछि कारबाही गर्नु परेको हो। त्यस्तै व्यवसाय सञ्चालन गर्ने इजाजत पत्र नभएको, कर कार्यालयको अनुमति पत्र नलिएको तथा अन्य कानुनी आधार प्रमाण पुग्ने कागजात नभएको भेटिएपछि उनीहरु कारबाहीको दायरामा ल्याउनु परेको हो। 

त्यसैगरी मूल्यसुचि नटाँसेको, मापदण्ड अनुसारका नाप तौलका ढक तराजु नभएको, अन्य आवश्यक व्यवस्थापन र सरसफाइजस्ता विषयहरू प्नि अनुगमनको क्रममा टोलीले हेर्ने गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाईघाटले चाडबाडका बेला उपभोक्ता ठगिनबाट बँचाउन तथा कालाेबजारी रोक्न अनुगमन कार्यलाई निरन्तरता दिइएको जनाएको छ। चाडपर्वका बेला बजार भीडभाड हुने मौका छोपेर ठगी धन्दा र कालोबजारी चल्ने विगतको घट्नालाई लिएर अनुगमन नियमित गर्न थालिएको विभागले जनाएको छ।

सहायक सिडिओ रेग्मी नेतृत्वको जिल्ला अनुगमन समितिको टोलीले सदरमुकाम गाईघाट, बोक्से, मोतिगडा, पुरानो गाईघाट, जलजले, देउरी, राजाबास, चुहाडे, बगाहालगायत बजारमा अनुगमन गरिरहेको छ। टोलीले अनुगमन कार्यलाई निरन्तरता दिँदै बेलटार, रामपुर, कटारी, मुर्कुची, घुर्मी, बेतिनी, रौतालगायत अन्य ससाना बजारतिर पनि परिचालन  हुने तयारी गरिरहेको छ। 

अनुगमनको पहिलो फेजमा गल्ती गर्नेलाई सचेत गराउने तथा दोहो¥याएर अनुगमन गर्दा पनि गल्ती गरेको पाइएपछि जरिवाना तिराएर कारबाही गर्न थालेको संयोजक रेग्मीले बताएका छन्। अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग, खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय अनुसन्धान कार्यालय, भेटनरी तथा पशु विज्ञ सेवा केन्द्र, त्रियुगा उद्योग वाणिज्य संघ र सञ्चारकर्मी प्रतिनिधि पनि सहभागी रहेका छन्। 

प्रकाशित: १६ आश्विन २०८१ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App