१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

३३ स्थानमा सडक अवरुद्ध

गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म लगातार भएको वर्षाले क्षति पुर्‍याएकामध्ये ११ वटा राजमार्गको विभिन्न ३३ स्थानमा मंगलबार साँझसम्म पनि अवरोध पन्छाउन सकिएको छैन।

सडक विभागका सूचना अधिकारी अमृत शर्माका अनुसार बिपी राजमार्ग, कान्ति पथ, कालीगण्डकी, मदन भण्डारी, मेची र मध्यपहाडी राजमार्ग, स्याफ्रुबेंसी–धुन्चे, त्रिभुवन राजपथ, पृथ्वी लोकमार्ग, भीमफेदी–कुलेखानी मार्ग अवरुद्ध छन्। सडक विभागका अनुसार विभिन्न राजमार्गको ३ सय ५८ ठाउँमा भएको अवरोध हटाएर दुईतर्फ नै यातायातका साधन सञ्चालन गरिएको छ। यसैगरी चार सय १२ ठाउँमा अवरोध हटाएर एकतर्फी मात्र सवारीसाधन सञ्चालनमा ल्याइएको छ। राजमार्गका विभिन्न ३३ स्थानमा भने दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याउन अझै नसकिएको विभागले जनाएको छ।

विभागका अनुसार बाढीपहिरोका कारण सुरुमा ४२ वटा राजमार्गको आठ सय तीन स्थानमा अवरोध पुगेको थियो। वर्षा कम हुनासाथ अवरुद्ध राजमार्ग खुलाउन सडक विभाग खटिएको छ। विभागका अनुसार वर्षाका कारण देशभरि २१ हजार मिटर बाटो भत्किएको छ। विभागका उच्च कर्मचारीले आइतबार उपत्यकासहित देशभरिका सडक र पुलमा बाढीपहिरोले पुर्‍याएको क्षति र मर्मत तथा पुनर्निर्माणका विषयमा प्रारम्भिक अध्ययन गरेका थिए।

सूचना अधिकारी शर्माका अनुसार वर्षाले पाँचवटा पुलमा पनि क्षति भएको छ। जसमा दुईवटा बेलिब्रिज छन्। ती पुल मर्मत तथा पुनर्निर्माण गर्न तत्काल साढे दुई अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी उनले दिए। उनका अनुसार अरनिको, कान्ति, बिपी राजमार्गमा गम्भीर क्षति पुगेको छ। विभागका अनुसार बिपी राजमार्गको एक हजार पाँच सय ५० मिटर नराम्ररी बिग्रिएको छ। यसबाहेक अन्य थुप्रै ठाउँमा सानोतिनो क्षति भएको छ। 

प्रकाशित: १६ आश्विन २०८१ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App