१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

किरियामा बसेका सात भाईको ‘दुर्लभ दृश्य’

तस्बिरः अर्घाखाँचीको धातिवाङका रविलाल पौडेलको निधनपछि किरियामा बसेका ७ भाई छोराहरु।

‘तस्बिर आफैँ बोल्छ’ भन्ने शायद यही होला। आजकल यस्ता दृश्य विरलै देखिन्छन्। ‘दुई सन्तान ईश्वरको वरदान’ भन्दै दुई सन्तानभन्दा बढी जन्माउने परम्परा हट्दै गएको छ। कतिपयले जन्माए तिन वटासम्म जन्माउँछन्।

महँगी, बेरोजगारी र पालन पोषणको चुनौतीका कारण धेरै सन्तान जन्माउन दम्पतीहरु ईच्छुक देखिदैंनन्। पछिल्ला केही वर्षहरुमा कम सन्तान जन्माउने परम्परा जस्तै बन्दै गएको छ।

५० को दशक अघि सन्तान यति नै जन्माउनु पर्छ भन्ने थिएन। १०/१२ जना सन्तान जन्माएका प्रसस्त उदाहरण पनि यही समाजमा छन्। अर्घाखाँचीको पाणिनी गाउँपालिका ६, धातिवाङका रविलाल पौडेलले १२ सन्तान जन्माए, हुर्काए, पढाए, बढाए। ९ छोरा र तिन छोरी जन्माएका पौडेलले आफू स्वर्गारोहण हुनु अघिं नै दुई सन्तान गुमाएका थिए।

बुबा रविलालको यही असोज ७ गतेका दिन देहावसन भयो। ९ भाई छोरामध्ये दुई भाई जेठा जागेश्वर र माईला नमराज पौडेलको यसअघि नै निधन भईसकेको छ। अहिले बुबाको निधन पछि ७ भाई किरिया बसेका छन्। साँईला दुर्गा प्रसाद, काँइला लोकनाथ, राइँला धन प्रसाद, ढाइँला हुमनाथ, ठाइँला  हिमलाल, ठुला कान्छा भुवानन्द र कान्छा हेमनाथ गरेर ७ दाजुभाई किरिया बसेका हुन्।

अर्घाखाँचीको धातिवाङमा जन्मिएका उनिहरु हाल कपिलवस्तुमा बसोबास गर्छन्। कपिलवस्तुको वाणगंगा ८, ढोंडेकोलमा उनिहरु बुवाको किरिया बसेका छन्। बुहारीहरु ८ जना समेत जुटेका छन्। ढाइँली बुहारी दुवईमा रहेकाले आउन नपाएको र उनि बाहेक सबै (८ जना) जुटेको राइँला भाई धनप्रसाद पौडेलले बताए। तिनैजना दिदिबहिनी पनि जुटेका छन्।

सन्तान कति जन्माउने ?  

सन्तान कती जन्माउने भन्ने कुरा नितान्त दम्पतीको विषय हो। उनिहरुको चाहना, ईच्छाशक्ती र रुचीमा भर पर्ने कुरा हो। पछिल्लो समय बच्चाबच्ची जन्माउने कुरा आफ्नो आयश्रोत, भविष्यको योजना र समाजको स्थापित मान्यतालाई समेत जोडेर हेरिन्छ।

सन्तान कति पाउने ? कतिबेला पाउने ? भन्ने कुरा आफ्नो चाहनामा मात्र भर नपर्ने बताउँछन् भुमिकास्थान ९, ढिकुराका पंडित ऋषिराम शास्त्री। उमेरले ८० वर्ष काटेका शास्त्री संस्कृत विषयमा अब्बल छन्। उनले पछिल्लो समय सन्तान जन्माउने विषय फेशनँग जोडिएको बताए। ‘पहिले पहिले १५÷२० ओटा सन्तान जन्माउँथे, उनले भने,‘जमाना अनुसार परिवर्तन भएको छ।’

धेरै सन्तान जन्माउँदा स्याहारसुसार गर्न सकिंदैन, उचित शिक्षादिक्षा दिन सकिंदैन भन्ने कुराको भने उनले खण्डन गरे। ‘१५ भाईबहिनी जन्माउनेहरु सबैलाई सबैथोक पुगेकै थियो। शिक्षादिक्षा पाएकै थिए। लाउन खान पनि मिलेकै थियो। के चाँही अभाव थियो र ?’उनले भने।’

सिमित १÷२ ओटा सन्तान जन्माउने परम्परा जस्तै बनेको भन्दै उनले सन्तान लिएर शहर पस्ने, गाउँ रित्तिने गरेको बताए। आफ्नो भुगोल, यहाँको वस्तुस्थित र यहाँको मूल्यमान्यता अनुसार आफूलाई ढाल्नुपर्नेमा सबै सहरिया बन्न खोजेकोले आफू चिन्तित रहेको बताए। पहाड रित्तिने, तराई भरिने अवस्था आएको भन्दै शास्त्रीले यो राम्रो संकेत नभएको बताए।

प्रकाशित: १६ आश्विन २०८१ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App