१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा इतिहासकै बढी वर्षा

काठमाडौं उपत्यकामा शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म २४ घण्टाको अवधिमा भारी धेरै वर्षा भएको छ। यसले अहिलेसम्मको सबै रेकर्ड तोडेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उक्त २४ घण्टाको अवधिमा काठमाडौंमा २३९ दशमलव ७ मिलिमिटर वर्षा भएको छ। ‘हाम्रो प्रारिम्भक विवरणअनुसार शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म काठमाडौंमा भएको वर्षाले अहिलेसम्मको रेकर्ड तोडेको छ,’ लामिछानेले भने, ‘काठमाडौंमा यति धेरै वर्षा भएको यो इतिहासमै पहिलो पटक हो।’

उनका अनुसार एयरपोर्टमा राखिएको स्टेसनले यस्तो रेकर्ड देखाएको हो। एयरपोर्टमा शुक्रबार बिहान ८ बजेर ४५ मिनेटदेखि शनिबार बिहान ८ बजेर ४५ मिनेटसम्म लगातार भएको वर्षाले पहिलोपटक यति धेरै मापन गरिएको लामिछानेले जानकारी दिए। यसअघि काठमाडौंमा सन् २००२ जुलाई २३ मा अति धेरै वर्षा भएको थियो। त्यतिबेला २४ घण्टामा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो। त्यो रेकर्ड यसपटक तोडिएको लामिछानेले बताए।

काठमाडौंसहित भैरहवा, सिमरा, पोखरालगायत क्षेत्रमा शनिबार बढी वर्षा भएको मापन गरिएको छ। लामिछानेका अनुसार सामान्यतया आइतबार दिउँसोदेखि काठमाडौंलगायत देशभरि मौसम सफा हुँदै जानेछ। महाशाखाका अनुसार आइतबार आंशिकदेखि साधारणतया बदली रहनेछ।

मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ।

यसैगरी आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टामा बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने तथा भूक्षयको जोखिम रहेको भन्दै क्षतिबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै आगामी २४ घण्टा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 मौसमविद्का अनुसार नेपालमा धेरैजसो मनसुन बंगालको खाडीबाट भित्रिन्छ। मौसमविद्ले यस वर्ष बढी वर्षा हुने अनुमान पहिले नै गरेका थिए। विभिन्न विधि अपनाएर गरिएको अध्ययनबाट यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको थियो। तर वर्षा यति धेरै भयो कि अहिलेसम्मको कीर्तिमान नै तोडियो। सामान्यतया वर्षभरि हुने ८० प्रतिशतभन्दा बढी वर्षा बर्खायाममै हुने अनुमान छ।

२३ राजमार्ग अवरुद्ध तत्काल ३० करोड क्षति

सडक विभागले शनिबार साँझसम्म देशभरि २३ वटा राजमार्गका ६८ ठाउँमा सडक अवरुद्ध भएको जनाएको छ। विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार सडक अवरुद्ध हुँदा तत्काल ३० करोडभन्दा बढी क्षति भएको छ।

उनका अनुसार शनिबार साँझसम्म काठमाडौं भित्रिने सबै राजमार्ग अवरुद्ध भएका छन्। ‘हाम्रो पहिलो काम काठमाडौं भित्रिने सडकलाई सुचारु गर्नु हो। यसैगरी अन्य सडकलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन प्रयास गर्छौं,’ उनले भने।

उनका अनुसार वर्षाले तीनवटा पुल बगाएको छ। बिपी, कान्ति, अरनिको, राप्ती, मध्यपहाडी, नौबिसे–काठमाडौं, डुम्रे बेंसीसहर, त्रिभुवन राजपथलगायत राजमार्ग शनिबार साँझसम्म अवरुद्ध नै रहेको सडक विभागको भनाइ छ।

बागमतीले यस वर्षको रेकर्ड तोड्यो

काठमाडाैंमा अविरल वर्षा हुँदा बागमतीलगायत उपत्यका १९ वटा नदीमा बढको पानीको बहावले यस वर्षको रेकर्ड तोडेको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सिँचाइ युनिटका सब इन्जिनियर देवेन्द्र रिमालले बताए। उनका अनुसार शनिबार बिहान ८ बजेर ५० मिनेटमा बागमती नदीको गौरीघाटमा नदीको मापन गरिएको थियो। जसमा उक्त नदीमा पानीको बहाव बढेर सतहबाट ३ दशमलव शून्य ६ मिटर पुगेको थियो।

‘यो भनेको यस वर्ष सबैभन्दा बढी पानीको बहाव हो। यसले अन्य रेकर्ड पनि तोडिएको अनुमान गरेका छौं। सबै विवरणको अध्ययन गरिरहेका छौं,’ उनले भने। उनका अनुसार शनिबार बिहान बागमतीमा मात्र नभई उपत्यकाका अन्य १८ वटा नदीमा पनि पानीको बहाव सबैभन्दा बढी मापन गरिएको छ।

प्रकाशित: १३ आश्विन २०८१ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App