३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

जनकपुरको गंगा सागरमा पितृ तर्पण गर्नेहरुको भीड

आज बुधबार देखिबाट पितृ पक्ष शुरु भएको छ ।पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ । पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो ।  

चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

आश्विन कृष्ण प्रतिपदादेखि औँशीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ ।

पिता स्वर्गीय भएकाहरु यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । स्वर्गीय भइसकेका पूर्वजलाई तर्पण दिनाले आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ । शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने जनविश्वास समेत छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मृत्युलोकमा झर्छन् भनी हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । पितृ तर्पणका लागि जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा तर्पण गर्नेहरुको ठूलो भीड नै लाग्ने गर्छ । पहिलो दिन कुश तिल जौ फुली, काक्रो, द्रव्य हातमा लिएर ऋषि मुनिप्रति श्रद्धा प्रकट गरेर तर्पण गरिन्छ । जसलाई अगस्त तर्पण भन्ने गरिन्छ ।

अगस्त तर्पण गरेको भोली पल्टदेखि पूर्वज दिवंगत भएको तिथि अनुसार श्राद्ध गर्ने परम्परा रहेको छ । हिन्दुहरूको सबैभन्दा ठूलो पर्व दशैँ, दीपावली तथा छठ पर्व गर्नु अगाडी दिवङ्गत पितृहरुलाई स्मरण तर्पण, पिण्डदान गर्ने मिथिलामा परम्परा रहेको छ । 

प्रकाशित: २ आश्विन २०८१ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App