२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

जङ्गलमा बेवारिसे भेटिएको शवको पहिचान खुल्यो

शनिबार दिउँसो सदरमुकाम त्रियुगा नगरपालिका-१० बोक्सेस्थित जङ्गलमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ।

स्थानीय नव उदय सामुदायिक वन उपभोक्ता समूहको बीच जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको शव त्रियुगा नगरपालिका-४ का बालकुमार राईको भएको खुलेको हो।

शनिबार जङ्गलमा घाँस दाउरा गर्न गएका स्थानीयले बेवारिसे शव देखेर प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै खटिएको प्रहरीको टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी शव उठाएर अनुसन्धान थालेको थियो। सोही क्रममा उक्त शव ३५ वर्षीय राईको भन्ने सनाखत भएको प्रहरीले जनाएको छ।

राईले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। यसबारे अनुसन्धान भइरहेको जनाइएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। सनाखत भइसकेकाले पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष बद्री बस्नेतका अनुसार राई केही दिनअघिदेखि सम्पर्कविहीन भएका थिए। घर छाडेर हिँडेको भन्ने खबर आएको र आज बेवारिसे भेटिएको मृत शरीर उनकै भएको खबर आएको बताए।

राई परिवारमा श्रीमतीसँग झगडा भइरहेको भन्ने स्थानीयले खबर गरेको पनि वडाध्यक्ष बस्नेतले बताएका छन्। 

प्रकाशित: २९ भाद्र २०८१ २०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App