३१ असार २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

सन्तान गुमाएका आमालाई सोध, शोक कस्तो हुन्छ?

१) मुक्तक

भोको पेटलाई सोधी हेर भोक कस्तो हुन्छ?

अस्पतालको बेडमा लडेर हेर रोग कस्तो हुन्छ?

मानवता हराएको समाजमा जे गरे नि हुन्छ हजुर,

सन्तान गुमाएका आमालाई सोध, शोक कस्तो हुन्छ?

२) मुक्तक

चन्द्रमा बन्छौ कि घाम तिम्रो मर्जी,

बिन्द्रावन जान्छौ कि धाम तिम्रो मर्जी,

केवल बन्ने छौ रहर मेरो जिन्दगीको,

श्रीकृष्ण बन्छौ कि राम तिम्रो मर्जी।

३) मुक्तक

धर्मको नि ख्याल नगरी रातदिन पैसा थुप्रो लाए पनि,

बाँचुन्जेल एक पेट भर्ने हो सुनको थालमा खाए पनि,

खाली हात आएका हौ अभिमान र घमण्ड गर्छौ किन?

रित्तो नै जाने हो आखिर दैव नै मानव रूपमा आए पनि।

४) मुक्तक

दुईवटा मुटुको एउटा धड्कन बनोस् हाम्रो,

एकलाई चोट अर्कोमा जलन बनोस् हाम्रो,

गहिरो प्रेमको सागरभित्र डुबेर पौड्नुपर्छ,

यसैले पवित्र प्रेम कोमल मन बनोस् हाम्रो।

५) मुक्तक

हरेक पुरुषहरूको जीवनमा एक असल नारी भयो भने,

एक आपसमा आत्मसम्मान सुरक्षाको छहारी भयो भने,

आहा, विचार गर्नुहोस् त जीवन खुसी साथ बित्ने थियो,

दुःखसुखमा दुई जनको विश्वास समझदारी भयो भने।

प्रकाशित: १२ असार २०८३ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App