२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तीन दशकदेखि निर्माण सुरु भएको गाईघाट–फत्तेपुर सडक यसै वर्ष बन्ने

गाईघाट–फत्तेपुर सडकको अनुगमन गर्दै मेयर बस्नेत र डिई कर्णसहितको टोली। तस्बिरः महेश्वर

उदयपुर सदरमुकाम गाईघाटदेखि सप्तरीको व्यापारिक नाका बजार फत्तेपुर जोड्ने सडक ३ दशकअघि सुरु भए पनि पूरा हुन सकेको छैन। जहिल्यै बजेट अभावको कारण देखाउँदै थोरै काम हुँदै रोकिँदै आएको निर्माणाधीन ‘गाईघाट–फत्तेपुर सडक’ को काम चालु वर्ष भने बन्ने आसा पलाएको छ।

निर्माणाधीन गाईघाट–फत्तेपुर सडक उदयपुरकै सबभन्दा पुरानो योजना हो। स्तरोन्नति सहित डबल लेनको कालोपत्रे सडक बनाउने योजना अन्तर्गत वर्षेनी काम हुने गरे पनि पूर्णता भने पाउन सकेको छैन। दशकअघि साँघुरो सिङगल लेनको कालोपत्रे गरिँदै गाईघाटदेखि जोगी दहसम्म पु¥याए पनि त्यत्तिकै रोकिएको सडकको काम अघिल्लो वर्ष पनि निरन्तरता दिइएको थियो। तर, आवश्यक बजेट अभावले काम अलपत्र परेको थियो।

डिभिजन सडक कार्यालय लाहानबाट हुँदै आएको सो सडकको काम चालु वर्ष भने पुरा हुने आश्वासन प्राप्त भएको त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले बताए। उनका अनुसार अघिल्लो दिन मात्र डिभिजन प्रमुख (डिई) आशुतोष कर्णसहितको टोलीले सडकको स्थलगत निरीक्षण गरेको छ। निरिक्षणको क्रममा डिई कर्णले चालु आर्थिक वर्ष सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएको भन्दै रकम अभावकै कारण निर्माण कार्यमा बाधा नहुने आश्वासन दिएको मेयर बस्नेतले बताएका छन्।

गाईघाट–जलजले खण्डको त्रियुगा नगरपालिका ३ मोतिगडादेखि १ र २ को जोगीदह तथा छिमेकी चौदण्डीगढी नगरपालिका ९, १० को हडिया तथा ५ सुन्दरपुर हुँदै सप्तरीको सप्तकोसी नगरपालिकाको मुख्य व्यापारिक बजार फत्तेपुर जोड्ने उक्त सडक ३० किलोमिटर लामो छ। सडकको मोतिगढा–जोगीदह–रूपनीसम्म करिब १२ किलोमिटर खण्ड यसै वर्ष काम सम्पन्न गर्ने गरी बजेट सुनिश्चित भएको डिई कर्णको भनाई उद्धृत गर्दै मेयर बस्नेतले अव सडक कालोपत्रे हुने आसा पलाएको बताए।

‘यो सडक धेरै पहिले सुरु भए पनि पूरा हुन नसकेको योजना हो’ मेयर बस्नेतले भने ‘यसपालि भने काम हुने देखिएको छ। डिईकै नेतृत्वमा आएको टोलीले साइट हेरेर काम हुने ग्यारेन्टी गरेकाले पक्कै बन्ला।’ उनका अनुसार डिई कर्णको टोलीले कामलाई तत्काल तीव्रता दिने प्रतिबद्धता जनाउँदै साइटका ठेकेदारलाई काम थालिहाल्न निर्देशनसमेत दिएकाले पनि आसा पलाएको छ। 

उक्त सडक नेपाल सरकारको ‘निर्वाचन क्षेत्र रणनीतिक सडक योजना’ अनुसार संघीय संसद्को एक निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपैयाँसम्म बजेटबाट बन्ने सडक अन्तर्गतको हो। उक्त कार्यक्रम अनुसार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्का निर्वाचित उदयपुर निर्वाचन क्षेत्र १ अन्तर्गतको हो।  सदरमुकाम गाईघाटलाई पूर्वी–दक्षिण भेग हुँदै सप्तरीलाई जोड्ने जिल्लाकै सबभन्दा पुरानो भएकाले पनि गाईघाट–फत्तेपुर सडक छिट्टै निर्माण सम्पन्न हुनुपर्ने स्थानीयको ताकेता छ।

उदयपुरमा प्रस्तावित त्रियुगा विमानस्थललाई पनि छोएको सडक पछिल्लो डिजाइन अनुसार उच्च गुणस्तरको दोहोरो लेनको कालोपत्रेसहितको अल्फाल्ट प्रविधिको हुने प्राविधिक इस्टीमेट छ। मैनाचुली÷साह÷रेग्मी जेवीले निर्माणको जिम्मा पाएको सडकका लागि २८ करोड ४३ लाख ४६ हजारमा ठेक्का सम्झौता भईसकेको डिभिजन कार्यालय लहानले जनाएको छ। समयमै काम भए मोतिगढा–जोगीदह–रुपनी खण्ड चालु आर्थिक वर्षभित्रै सकिने गरी बजेट सुनिश्चित गरिएको छ। त्यसका लागि आफुले निर्माण कम्पनीलाई निर्देशन दिइसकेको र स्थानीय बासी र त्रियुगा जनप्रतिनिधिले पनि बेलाबेलामा ताकेता गरिराख्न डिई कर्णले आग्रह गरेका छन्।

सो सडक निर्माण सम्पन्न भएमा दक्षिण–पूर्वी भेगका स्थानीय बासीलाई सदरमुकाम आउजाउ गर्न तथा गर्भवती, सुत्केरी र बिरामीलाई आकस्मिक उपचार गराउन जिल्ला अस्पताल आउजाउ गर्ने एम्बुलेन्स तथा सुरक्षा सवारीलाई सहज हुने स्थानीयको भनाई छ। सुरुमा ओटासिल प्रविधिको कालोपत्रे गरिएको सो सडक २ वर्षभित्रै भत्केर काम नलाग्ने भएपछि डिजाइन परिवर्तन गरेर अस्फाल्ट प्रविधिको बनाउन लागिएको डिभिजन कार्यालयले जनाएको छ। 

प्रकाशित: २७ भाद्र २०८१ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App