१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कालिका कन्स्ट्रक्सनका ७ सवारीमा बम र आगजनी

सिन्धुली– कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ। विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ। 

धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु-याइएको छ। 

मंगलबार बिहान करिब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति पु-याएका हुन्। 

लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पु-याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यस्तै, ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका टिपरमा पनि क्षति पुगेको छ। रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ। 

विप्लवका कार्यकर्ताले प्रहार गरेको बमका छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। 

विप्लवका कार्यकर्ता सो घटना घटाइ फरार रहेको र प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। विप्लवले चन्दा मागेको र दबाब दिएको बारेमा कालिका कन्स्ट्रक्सनले अनभिज्ञता प्रकट गरेको उनको भनाइ छ। 

यता, आयोजना प्रमुख ठाकुर ढकालले विप्लवका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताए। उक्त घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण नरहेको बताए। 

उनले स्थानीय प्रशासनसँग काम गर्ने उपयुक्त वातावरण सिर्जना गरिदिन माग गरेका छन्। उनका अनुसार घटनाको बारेमा सडक विभाग तथा कन्स्ट्रक्सनलाई जानकारी गराइएको छ र तत्काल काम गर्न सक्ने अवस्था छैन। बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको उनको भनाइ छ। 

यता विप्लवका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा पनि दुई स्काभेटर र एक क्रेनमा क्षति पु¥याएको आयोजना प्रमुख ढकालले बताए। 

सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्र्याक खोल्ने र निर्माण गर्ने कार्य अघि बढाइरहेको छ। 

यी घटनाको बारेमा अझैसम्म विप्लव नेतृत्वको माओवादीले कुनै प्रतिक्रिया दिएको छैन। रासस

प्रकाशित: २० चैत्र २०७४ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App