१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घर छाड्न खोजेको भन्दै श्रीमतीको हत्या

सामान्य घरायसी विवादमा पोखराका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय जहरसिंह कुँवरले श्रीमती ४० वर्षीया राधिका कुँवरको हत्या गरेका हुन्।

दिनहुँ केहि न केहि विषयमा विवाद भइरहने कुँवर दम्पतीबीच लामो समयदेखि मिलाप थिएन। वैदेशिक रोजगारीबाट फर्केका श्रीमान जहरसिंह र उनको श्रीमतीबीच दिनहुँजसो झै झगडा हुने गरेको थियो। सोहि कारण उनीहरुबीच सम्बन्ध बिच्छेदको प्रक्रिया पनि चलिरहेको थियो। अदालतको आदेश नआईञ्जेल सँगै बस्ने भन्ने सहमति अनुसार उनीहरु एउटै घरमा बस्ने र एउटै भान्छा प्रयोग गर्दै आएका थिए।

बुधबार दिउँसो श्रीमती राधिका घरबाट बाहिर निस्कन खोजेकी थिईन्। त्यो थाहा पाएपछि श्रीमान जहरसिंहले रोक्न खोजेका थिए। त्यस क्रममा विवाद शुरु भएको कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। विवाद भएपछि श्रीमानले ‘आज तलाईं मार्दिन्छु । कि आज त, छैनस् कि म छैन’ भन्दै खुकुरी प्रहार गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।

उनका अनुसार जहरसिंहले दिउँसो १२ बजेतिर श्रीमतीलाई घाँटी र पेटमा खुकुरी प्रहार गरेका थिए। श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी श्रीमती राधिकाको उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले दिउँसो पौने एक बजेतिर मृत घोषणा गरेको उनले जानकारी दिए।

श्रीमानले हानेको खुकुरीको प्रहारले घाईते राधिकाको पेटबाट आन्द्राभुँडी नै बाहिर निस्किएको थियो। एक प्रत्यक्षदर्शीले भनिन्,‘हेर्दै विभत्स र डरलाग्दो थियो।’प्रहरीका अनुसार हत्या अभियोग लागेका जहरसिंहको मानसिक स्वास्थ्य राम्रो थिएन। उनले डिप्रेसनको औषधीसमेत लिने गरेको खुलेको एसपी थापाले बताए।

घटनाको कास्की प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ। हत्या अभियोग लागेका जहरसिंहलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए। उनले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एक थान खुकुरीसमेत बरामद गरिएको जानकारी दिए। कुँवर दम्पतीको एकजना छोरा रहेको खुलेको छ।  

प्रकाशित: २६ भाद्र २०८१ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App