१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

राष्ट्रपति कार्यालयमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दज्र्यानी चिह्न प्रदान गर्दै। तस्बिर सौजन्य: राष्ट्रपति कार्यालय/रासस

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा  नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्। उनले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पहिलो ‘ब्रिफिङ’समेत गरेका छन्।

प्रधानसेनापति सिग्देलेले मंगलबार बिहान १० बजे रक्षामन्त्री मानवीर राईसँग दोस्रो औपचारिक भेट तथा अनौपचारिक बिफ्रिङ गर्ने कार्यक्रम छ। त्यसपछि मात्रै उनले प्रधानमन्त्री ओली र रक्षामन्त्री राईलाई निमन्त्रणा गरेर मुख्यालयमा स्वागतसँगै औपचारिक ब्रिफिङ गर्नेछन्।

नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। यसका अतिरिक्त विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवद्र्धन र आपत्कालीन खोज तथा उद्धार कार्य पनि सेनाकै जिम्मेवारी क्षेत्रमा छन्।

यति गहन जिम्मेवारी रहेको करिब ९५ हजार सेनाको वरिष्ठतम रथीका हैसियतले बलाधिकृत रथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेको थियो। गत साउन २५ देखि सो जिम्मेवारी सम्हाल्दै आएका सिग्देलले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट दज्र्यानी चिह्न लगाएलगत्तै औपचारिक रूपमा प्रधानसेनापतिको पदभार ग्रहण गरेका हुन्।

प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने नेपाली सेनाको प्रावधानअनुसार वरिष्ठतम रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

यसअघिका प्रधानसेनापति प्रभुराम शर्मा तीन वर्षे पदावधि समाप्त भई सोमबारबाट अनिवार्य अवकाश पाए। शर्मालाई नेपाली सेनाले औपचारिक रूपमा बिदाइसमेत गरिसकेको छ।

प्रधानसेनापति सिग्देलले सेनापति हुन मात्र होइन, सफल योग्य बन्न आफ्नो जीवनकालमा काम लाग्ने सबै प्रकारमा तालिम लिएका छन्। सबैजसो युनिटको कमान्ड अनुभव बटुलेका, चीनबाट नेसनल डिफेन्स कोर्स (एनडिसी) गरेका, युगोस्लाभिया, ताजकिस्तान र लाइबेरियामा राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा संलग्न भएका सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्ट्राटेजिक स्टडिजमै मास्टर्स गरेका छन्। यसरी हेर्दा प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिएका प्रधानसेनापति सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। ३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ।

प्रधानसेनापतिले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए। कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्त्वका घटनालाई उनले नजिकबाट चासोका साथ हेरेका छन्। साथै ३५ वर्षयता नेपालभित्रका राजनीतिक आन्दोलन र परिवर्तनबारे प्रधानसेनापति सिग्देल परिचित छन्।

यी सबै विषयलाई नजिकबाट नियालेका प्रधानसेनापतिको जिम्मेवारी अबको तीन वर्ष सम्हाल्नेछन्। प्रधानसेनापति सिग्देलको मुख्य चुनौती र अवसर भनेकै सेनाको गैरराजनीतिक चरित्रलाई कायम राख्दै फौजलाई सैनिक पद्धतिमा चल्न दिनुपर्ने रहेको छ। आफू प्रधानसेनापति हुनुअघि देखिएका नक्कली शैक्षिक प्रमाणपत्र र जन्ममिति विवाद नेपाली सेनाको नकारात्मक पक्ष भएकाले त्यसलाई हटाउनु प्रमुख चुनौती र अवसर दुवै रहेको छ। सेनाभित्र वृत्ति विकासको पक्षलाई ध्यान दिएर अघि बढे सबैले समान अवसर पाउने वातावरण तयार गर्नु अर्को चुनौती छ।

 त्यसबाहेक राष्ट्रिय चुनौतीलाई सामना गर्दै प्रतिरक्षा गर्ने नियमित चुनौती पनि सिग्देलसँग विद्यमान छ। आन्तरिक अवस्थाको मूल्यांकन गर्दै छिमेकमा ठुला छिमेकी मुलुकहरूबीच प्रतिस्पर्धा भइरहँदा क्षेत्रीय परिवेशमा पनि नेपाली सेनालाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने अर्को चुनौती छ। यो विषयमा सन्तुलित अवधारणा सार्वजनिक गर्ने सैनिक सफ्ट कूटनीति प्रयोग गर्नुपर्ने उनको जिम्मेवारी मात्र होइन, राष्ट्रको दायित्व वहन गर्ने अर्को अवसरसमेत प्रधानसेनापति  सिग्देललाई छ।

सरकारले दिएको जिम्मेवारीमध्ये यही तीन वर्षभित्र तराई–मधेसलाई काठमाडौं जोड्ने द्रुतमार्ग सम्पन्न गरिसक्ने प्रमुख दायित्व र अवसर छ। २०८३ सालभित्र द्रुतमार्ग सम्पन्न गर्नुपर्ने जिम्मेवारी नेपाली सेनामाथि छ। विकास निर्माणको सवालमा नेपाली सेनाले सञ्चालन गर्दै आएको परियोजनामध्ये यो सबैभन्दा ठुलो हो।

यसबाहेक कम्तीमा १० वर्षभित्र लाइट इन्फ्यान्ट्री फौजलाई दक्षिण एसियाली स्तरको बनाउने सेनाको ध्येय पूरा गर्ने चुनौती र अवसर पनि उनलाई छ। हलुका किसिमका हतियार, उपकरण हुने यस्तो फौजलाई ८४ मिलिमिटरको रकेट लन्चर, अटोमेटिक ग्रिनेड लन्चर, एन्टिट्याङ गाइडेड मिसाइललगायत १३ किसिमका अत्याधुनिक हतियारले सुसज्जित बनाउने अवसर उनले नै पाउन सक्ने अपेक्षा छ।

अघिल्लो पटक नेपाली सेनाले सरकारलाई ‘नेपाली आर्मी भिजन २०८७’ दिएको छ। जसअनुसार २०८७ सम्म निश्चित हतियार, उपकरण, उद्धार, हवाई र युद्ध क्षमता, गोलीगठ्ठा उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सोच राखिएको छ।

 सांगठनिक पुनःसंरचना र आकारको विषय भने सेनाभित्र अहिले बेलाबखत छलफलमा हुने गरेको छ। स्वदेशमै सैन्य सामग्री उत्पादन गर्ने उद्योग नहुँदा मर्मतसम्भारको क्षमता निकै कमजोर छ भने पर्याप्त हवाई उपकरणको अभावमा जटिल हिमाली/पहाडी जिल्लाहरूमा सैनिक परिचालन सहज बनाउने योजनामा अघिल्ला सेनापतिले नवनियुक्त सनापतिको काँधमा सुम्पेर बिदा भएको तथ्यलाई पनि उनले मनन गर्नुपर्ने हुन्छ। साथै सरकारले जिम्मेवारी दिएको विकास निर्माणका काममा नेपाली सेनालाई ठेकेदार र व्यापारी आरोपबाट मुक्त बनाउनुपर्ने अर्को महत्त्वपूर्ण अवसर र चुनौती पनि उनीमाथि छ।

सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्‍याउँदै आएको छ। नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानवअधिकार प्रवद्र्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा महिलासहित ठुलो संख्यामा शान्ति सैनिक खटाउने नेपाली सेना मुलुकको सूचीमा पहिलो स्थानमा छ। त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय २३ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्‍याइसकेका छ।

हाल विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा स्थापना भएका ११ मिसनमा ६ सय ७५ महिलासहित पाँच हजार नौ सय १६ नेपाली सैनिक कार्यरत छन्। यसलाई निरन्तर कायम राख्ने मात्र होइन, शान्ति सैनिकमा संख्या बढाउने पहिलो स्थान कायमै राख्ने अर्को अवसर र चुनौती पनि उनलाई छ।

प्रकाशित: २५ भाद्र २०८१ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App