१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लुटपाटमा संलग्न सातजना इटहरीबाट पक्राउ, धरानबाट समातिए लागूऔषध कारोबारी

पाँच दिनअघि इटहरीको पर्यटकीय स्थल तालतलैया नजिकै रहेको चोकमा दुई सर्वसाधारणलाई लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

झापा बाह्रदशी वडा नं. ३ का २२ वर्षे अमन भगत र सोही ठाउँका २३ वर्षे निखिल भगतलाई लुटपाट गर्नेलाई प्रहरीले इटहरी वडा नं. ४ बाट नियन्त्रणमा लिएका हो । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा रामधुनी वडा नं. २ का अनिश कोइराला, वडा नं. ३ का सुनिल बस्नेत, सोही ठाउँका निश्चल बस्नेत, सुशन थापा, वडा नं.७ का साकार भण्डारी, इटहरी वडा नं. ४ का विशाल तामाङ र वडा नंं. १६ का रिचन खत्री छन् । पक्राउ पर्ने उनीहरु सबै १८ वर्षदेखि २४ वर्ष उमेरका रहेको प्रहरीको भनाइ छ ।  

पक्राउ पर्नेका साथबाट प्रहरीले नगद ३० हजार २५५ रुपैयाँ, एकथान चुक्कु, ओके टोके दुई थान र छ वटा मोवाइल बरामद गरेको छ । पक्राउ पर्ने समूहले झापा बाह्रदशी वडा नं. ३ का २२ वर्षे अमन भगत र सोही ठाउँका २३ वर्षे निखिल भगतको दुई लाख रुपैयाँ लुटेर फरार भएका थिए ।  

यसैबीच, धरान उपमहानगरपालिका वडा नं. ९ बगैचा लाइनमा भाग्यमानी लिम्बूको घरमा इन्जिनियर कन्सलटेन्सी सञ्चालन गर्दै आएका २४ वर्षे साहिद जावेदको कोठामा प्रहरीले खोजतलासी गर्दा लागूऔषध वरामद गरेको छ । 

उनको कोठाबाट प्रहरीले ट्रामाडोल १२ हजार २०० क्यापसुल, नौ सय ७५ ग्राम गाँजा, ३२० डिकोनिल र एक थान तराजु बरामद गरेको छ । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको  छ । 

प्रकाशित: २३ भाद्र २०८१ १८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App