संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।
हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रको स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय भएको बताए ।
मन्त्री पाण्डेले भने, 'धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो।'
उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यवस्थापन बारे बुझनु भएको र भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । साथै पशुपति क्षेत्र विकास कोषले लाईन नै बस्न नपर्ने गरि छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै प्रशंसासमेत गरे ।
मन्त्री पाण्डेले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्र्याउनु पर्नेमा जोड दिएका थिए ।
प्रकाशित: २१ भाद्र २०८१ १८:०२ शुक्रबार