२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
शिक्षा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह हुँदै, प्रधानमन्त्री उपस्थित हुने

.

प्रतिष्ठानको नवनिर्मित भवन तस्बिर: गोल्डेन/नागरिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। गत भदौ २३ गते हुने भनिएको यो समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको थियो।

त्यस बेलाका लागि ठुलो धनराशि खर्च भइसकेकोमा प्रधानमन्त्रीको एक्कासि अनुपस्थितिले पाहुनाहरू निराश भएका थिए। जस कारण चौतर्फी आलोचना भएको थियो।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार आउँदो कार्तिक २८ गते (बुधबार) आयोजना हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनीकुमार झालगायतका विशिष्ट व्यक्तित्वहरू सहभागी हुनेछन्।

रावलले भने, "कार्यक्रमका लागि मञ्च बनाउने काम मात्र बाँकी छ, अन्य सबै तयारी सकिएको छ।" समारोहमा अमेरिकास्थित हार्वर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयरकी क्रिस्टिन मसेंगरको पनि सहभागिता रहनेछ।

रजिस्ट्रार नृपेन्द्र महतका अनुसार प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ, र चिकित्साशास्त्रका स्नातक र स्नातकोत्तर तहमा ५८ विद्यार्थी दीक्षित हुने तयारीमा छन्। जसमध्ये २७ जनाले दीक्षान्तका लागि फारम भरेका छन्।

१३ वर्षपछि पहिलो पटक आयोजना हुन लागेको यस दीक्षान्त समारोहले प्रतिष्ठानका विद्यार्थीहरूका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताइएको छ। शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार स्नातक र स्नातकोत्तर गरी बिपिएच, बिएमएस, एमडीजीपी, एमडी एनेस्थेसिया, र एमडी पेडियाट्रिक्समा ५८ विद्यार्थी उत्तीर्ण भएका छन्।

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहसँगै प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। समारोहका लागि स्वास्थ्यमन्त्री अघिल्लो दिन नै जुम्ला आइपुग्ने र प्रधानमन्त्री ओली दीक्षान्तको दिनमा नै जुम्ला पुगेर समारोहमा सहभागिता जनाउनेछन्।

दीक्षान्त समारोहपछि प्रतिष्ठानको सिनेट बैठकसमेत बस्ने जानकारी उपकुलपति रावलले दिएका छन्।

प्रकाशित: २४ कार्तिक २०८१ २०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App