११ पुस २०८१ बिहीबार
image/svg+xml
कला

सुपर हिट चलचित्रमा पर्दा पछाडि सारङ्गी रेट्ने ‘हेमन्त कान्छा’

भुईँसम्मै टेकेँ मैले तिमी टेक्नु धुरी

पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु.. हालेर काँधे कुरी

अहिले नेपाली सिनेमा घरका पर्दामा कब्जा जमाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा धुरुक्कै रुवाउने सारङ्गी गीतको केही अंश हो यो । यो गीतको धुन जुराउन सारङ्गी वादक हेमन्त कान्छा रसाइलीले धेरै मेहनत गर्नुपरेको थियो ।  

सारङ्गी रेटेर जीवन गुजारा गरिरहेको पूर्णबहादुर गन्धर्व (विजय बराल)को सङ्घर्ष र दैनिकीमा आधारित चलचित्रमा गुन्जिएका सबैजसो सारङ्गीका धुनहरू तीनै हेमन्त कान्छाले पर्दा पछाडि बसेर बजाउँदै दिएका हुन् ।  

बाबु–छोराको सम्बन्धलाई मार्मिक रूपमा वर्णन गरिएको चलचित्रमा गन्धर्वको कथा र सारङ्गीमा आधारित जीवन सङ्घर्षले नै दर्शकलाई हलभित्र र बाहिर भावुक बनाइरहेको छ। सिङ्गै चलचित्र नै नायक बराल र सारङ्गीको धुनसँगै निस्किएको गीतसँगै जोडिएको विषयवस्तु वरिपरि घुमेको छ ।  फिल्ममा बजेका सारङ्गी धुनबारे धेरैलाई थाहा नभए पनि चलचित्र युनिटले नै प्रचारप्रसार गरेकामा हेमन्त कान्छा उत्साहित छन् ।  

म्याग्दीको मालिका गाउँपालिका–४ का स्थायी बासिन्दा हेमन्त कान्छाले यो चलचित्रमा मात्र नभई अन्य हिट चलचित्रहरू छक्का पन्जा, कुसुम ९रुकुम मैकोट०, ज्वाइँ साब, महापुरुष, प्रसाद, दर्पण छाया–२, परदेशी लगायत करिब २० ओटामा सारङ्गी धुनहरू दिएका छन्। पर्दा पछाडि बसेर होस् वा अगाडी, आफ्नो कर्मप्रति गर्व गर्ने सारङ्गी वादक रसाइली हालसम्म करिब १५ सयभन्दा बढी गीतमा सारङ्गीको धुन मिसाएका छन् ।

चलेकै चलचित्रमा आफूले सारङ्गीको धुन दिन पाउँदा उनी औधी खुसी पनि छन् । ‘चलेका नेपाली फिल्ममा पर्दापछाडि बसेर काम गर्न पाउँदा निकै खुसी छु,’ हेमन्त कान्छा सन्तोष व्यक्त गर्दै भन्छन्, ‘अहिलेसम्म हिट फिल्महरूमा सहकार्य गर्न पाउँदा थप मेहनत गर्ने ऊर्जा थपिएको छ।’ पछिल्लो समय त नेपालमा बन्ने नयाँ चलचित्रमा सारङ्गीको धुन चाहिए सबैले सम्झिने व्यक्ति नै हेमन्त कान्छा बनेका छन् । जसले आफूलाई चुनौती पनि थपेको अनुभव सुनाउँछन् ।  

हेमन्त कान्छाका हात सारङ्गी मात्र होइन, तबला र हार्मोनियममा पनि उत्तिकै पोख्त छन् । उनी सङ्गीतकार मात्र पनि होइनन्, सँगसँगै राम्रो गीत पनि गाउँछन् ।  यस अर्थमा उनी  बहुप्रतिभाशाली कलाकार हुन् ।

०५८ सालमा सुन्दर भविष्य खोज्दै म्याग्दीबाट काठमाडौं हानिएका हेमन्त कान्छा सुरुमा जापान जाने सपनामा थिए । जापानमा भविष्य राम्रो छ भनेर कमाएको पैसा समेत फसाएका उनी त्यसपछि विदेशको सपना त्यागेर साङ्गीतिक क्षेत्रमा लागेको बताउँछन् । कतिसम्म भने विदेश जाने सपनामा दलाललाई दिएर  फसाएको पैसा समेत उनले सारङ्गी रेटेरै तिरेको अनुभव उनीसँग छ ।

‘यसर्थ मेरो चिनारी यही सारङ्गी हो, साथी नै सारङ्गी हो,’ हेमन्त कान्छा भन्छन् । रहर र चाहना हुँदैमा जो कोही सारङ्गी बजाउन नसक्ने पनि उनी बताउँछन् । धेरै मेहनत गरेर उत्कृष्ट धुन निकाल्ने नै सफल हुने उनको बुझाई छ ।  

अहिले हेमन्त स्वदेश तथा विदेशमा साङ्गीतिक यात्रामा समेत निस्कने गरेका छन् ।  आफ्नो साङ्गीतिक यात्रा यो स्थानमा पुग्दा दिनरातको मेहनत र परिवारको साथबाट सम्भव भएको उनी सुनाउँछन् ।  

प्रकाशित: २२ कार्तिक २०८१ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App