कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले आफ्नो गाउँको आफ्नै पार्टीको र आफ्नै नजिकको मानिसलाई विश्वास गर्दा गिरोहले फसाएको बताएका छन्।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्री अधिकारीले आफ्नो नजिकको र विश्वासिलो मानिसको प्रयोग गरेर नियोजित रुपमा आफूलाई फसाइएको बताएका हुन्।
मन्त्री अधिकारीले नजिकको त्यो पनि शङ्कै गर्न नसक्ने मानिसमार्फत गिरोहले नियोजित रुपमा जापान लैजाने भनेर फसाएको बताए।
मन्त्री अधिकारीले मानव तस्करीमा आफू संलग्न नै नभएको दाबी गरे। मन्त्री अधिकारीले भने ‘मैले मानव तस्करी गरेको भए पक्राउ परेकाहरूले नै मेरो बारेमा सबै बयान दिइसक्ने थिए।’ उनले अनुसन्धानबाट प्रमाण भेटिए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे।
पूर्वमन्त्री अधिकारीले जापान जाने प्रक्रियामा आफ्नो गल्ती भएको स्वीकार गरे। तर, मानव तस्करी आफूले नगरेको बरु तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न सहयोग गरेको उनले स्पष्ट पारे।
उनले भने ‘मैले अनुसन्धानमा सहयोग गरेको हुँ। मैले मान्छे बेचेको छैन। मान्छे बेच्नेलाई कानुनी दायरामा ल्याउन सहयोग गरेको छु।’
अनुसन्धानमा सहयोग गर्न नै पार्टीको जिम्मेवारी र सरकारको जिम्मेवारीबाट मुक्त भएर बसेको अधिकारीले स्पष्ट पारे। उनले जापान जानेक्रममा आफूलाई गिरोहले फसाउन खोजेको चाल पाउने बित्तिकै प्रहरीलाई सूचना दिएको दाबी गरे।
यति मात्रै हैन मन्त्री पदबाट पनि आफैंले राजीनामा दिएको र पार्टीको जिम्मेवारीबाट मुक्त गर्नसमेत आफैले माग गरेको स्पष्ट पारे।
जापान जाने प्रक्रियामा गिरोहको विश्वास गरेर आफूले गल्ती गरेको भए पनि मानव तस्करीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो संलग्नता नभएको अधिकारीले जिकिर गरे।
उनले छानबिनका लागि राज्यलाई सबै खालको सहयोग गर्न तयार रहेको बताए। गत कार्तिक १३ गते कूटनीतिक मर्यादा विपरीत जापान भ्रमणमा गएका तत्कालीन मन्त्री अधिकारीलाई कार्तिक १७ गते जापानको विमानस्थलबाटै अध्यागमनले फर्काइदिएको थियो।
यति मात्रै नभई नेपालबाटै अन्य तीन जनलाईसमेत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कर्मचारी बनाएर भ्रमणमा लगेको र मानव तस्करी गरेको गम्भीर आरोपसमेत उनलाई लागेको छ। जसका कारण उनको जापान भ्रमण विवादित बन्न पुगेको छ।
जापान भ्रमणकै कारण उनले मन्त्री पद मात्रै गुमाउनुपरेन पार्टीले सङ्गठित सदस्यबाटसमेत निलम्बन गरेको छ।
प्रकाशित: २४ कार्तिक २०८१ २१:०१ शनिबार