३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

विश्व हानी नोक्सानी कोषको रकम ल्याउन आन्तरिक तयारी बलियो बनाउनुपर्छ: डा. महेश्वर ढकाल

अन्तर्राष्ट्रिय हानी तथा नोक्सानी सम्बोधन कोष कार्यसमितिका वैकल्पिक सदस्य डाक्टर महेश्वर ढकालले जलवायु परिवर्तनका नाममा आएको सहयोग फिर्ता हुनु दुर्भाग्य भएको बताएका छन् ।

जलवायु परिवर्तनजन्य विपद्का घटना बढ्दै जाँदा नेपाल जस्तो मुलुकले जलवायु अनुकूलन र क्षतिपूर्ति बापतको रकम अन्तर्राष्ट्रिय जलवायु वित्त कोषबाट ल्याउनुपर्ने आवाज उठिरहँदा प्राप्त रकम पनि खर्च गर्न नसकेर फिर्ता हुनुले विश्वजगतमा सकारात्मक सन्देश नजाने उनले बताए ।

दिगो विकास इन्स्टिच्युटले ललितपुरमा गरेको कार्यक्रममा उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग ल्याउनुपर्ने सम्बन्धमा दबाब दिएसँगै प्राप्त रकम खर्च गर्न विश्वासिलो, भरपर्दो र क्षमतावान् संरचनाको विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताएका हुन । उनले जलवायुजन्य विपद्बाट हुने हानी,नोक्सानी न्यूनीकरण तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय दबाबसँगै राष्ट्रिय तयारीलाई अघि बढाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय हानी तथा नोक्सानी सम्बोधन कोषमा वित्तीय परिचालनको कार्यविधि तथा मापदण्ड लचिलो बनाउनका लागि पहल र दबाब दिने काम भइरहेको पनि उहाँले जानकारी दिए। आफूले कोषबाट सिधै नेपालको संस्थामा पैसा आउने गरी व्यवस्था गर्नुपर्ने आवाज उठाएको पनि उनले बताए । कोषका कतिपय प्रशासनिक कामहरू टुङ्गिँदै गएको जानकारी दिँदै उनले अब बस्ने तेस्रो बैठकले वित्त परिचालनका मापदण्डमा पनि सहमति जुटाउने अपेक्षा आफूले लिएको बताए ।

उनले कोषले आफ्ना सबै काम सकेर कार्यान्वयनमा आउने समयसम्म नेपालले पनि हानी, नोक्सानी कोषबाट आउने रकम जम्मा हुने संस्था टुंगोमा पुराउनुपर्नेमा जोड दिए । कोषको रकम सिधै सरकारको संरचनामा जम्मा गर्दा विभिन्न प्रक्रियागत जटिलताका कारण विपद् पीडितको पहुँचमा पुग्न कठिन हुने जोखिमलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय निकाय जत्तिकै सक्षम नेपाल सरकार अन्तर्गतका राष्ट्रिय संरचनाहरूलाई जिम्मेवारी दिनुपर्ने तर्क उनको थियो । त्यसका लागि आवश्यक ऐन तथा नीतिहरू पनि परिमार्जन गर्न ढिलाइ गर्न नहुनेमा पनि उनले जोड दिए । 

उनले धेरै संस्थाहरू श्रृजना गर्दा अनावश्यक खर्च बढ्ने भन्दै भएकै संरचनाहरूलाई हानी, नोक्सानी बापत प्राप्त हुने रकमको परिचालनको जिम्मा दिनुपर्ने सुझाव दिए । 

प्रकाशित: २१ भाद्र २०८१ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App