कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षीय पुरुषलाई बालिका करणी गरेको आरोपमा प्रहरीले घरबाटै पक्राउ गरेको छ। पीडित बालिका विगत ६ वर्षदेखि सोही घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्।
उनले आफूमाथि पछिल्ला ३ वर्षदेखि लगातार जबरजस्ती करणी भइरहेको बताइन्। पीडित बालिका अहिले १७ वर्षकी छिन्।
काठमाडाैं महानगरपालिकाले सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट तथा होस्टलजस्ता स्थानमा रहेका बालबालिकाको अवस्था अध्ययन गर्न र बालश्रमिकहरूको जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरूले यो विषयमा प्रारम्भिक जानकारी दिएका थिए।
बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि उक्त अनुगमन टोलीले तयार पारेको प्रतिवेदनको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो।
महानगर प्रमुखको सचिवालयका सदस्य धिरज जोशीले यसलाई प्रतिवेदनमात्र नभई जाहेरीकै रूपमा लिएको बताउँदै भने, “हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ, कारबाही प्रक्रिया अब अघि बढ्छ।”
पक्राउ गरिएका पुरुषलाई हाल कालीमाटी प्रहरी वृत्तमा राखिएको छ। महानगरले हालसम्म जोखिममा परेका ५१ जना बालबालिकालाई उद्धार गरिसकेको छ। जसमा २७ बालिका र २४ बालक रहेका छन्।
तीमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको र बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले बताए। सुरक्षा, शिक्षा, तथा स्वास्थ्य सेवाको सुनिश्चितता पछि उनीहरूलाई सुरक्षित वातावरणमा पुनः स्थापना गरिएको छ।
प्रकाशित: २० भाद्र २०८१ १९:२० बिहीबार